तमु धिँ नेपालद्वारा विद्यार्थी सम्मान तथा सभाहल उद्घाटन

समाधान संवाददाता २०८२ साउन ३ गते १८:२०

पोखरा ।

तमु समुदायको पुरानो अग्रणी संस्था तमु धिँ नेपालले शनिबार एसईई उत्तीर्ण गरेका तमु विद्यार्थीका लागि बधाई तथा अभिमुखीकरण कार्यक्रम र नवनिर्मित बहुउद्देश्यीय सभाहलको उद्घाटन समारोह सम्पन्न गरेको छ ।

समारोहको उद्घाटन प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले दीप प्रज्वलन गरी गरे । उनले नवनिर्मित बहुउद्देश्यीय सभाहलको उद्घाटन भने पोखरा महानगरपालिका वडा नं. ९ का वडा सदस्य लक्ष्मी पहारीबाट गराए ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि गुरुङले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नेपालमै उच्च र उत्कृष्ट शिक्षा आर्जनमा जोड दिनुपर्ने बताए । उनले तमु विद्यार्थीहरू क्षमतावान् बन्नुपर्ने र विदेश जानै परे नेपालमा स्नातकोत्तर अध्ययन गरी दक्षता हासिल गरेपछि मात्र जान सुझाव दिए । तमु धिँ नेपालले छोटो अवधिमा बहुउद्देश्यीय सभाहल निर्माण गरेकोमा आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।

विशेष अतिथि, पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले तमु विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गरे । उनले तमु धिँ नेपाल पोखरा–९ मै केन्द्रीय कार्यालय रहेको संस्था भएकाले वडाको शान भएको बताउँदै छोटो अवधिमा सभाहल निर्माण सम्पन्न गरेकामा वडाबाट पनि सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।

Advertisement

कार्यक्रममा विद्यार्थीहरूलाई अभिमुखीकरण गर्दै विकास गुरुङले सक्षम, क्षमतावान् र प्राविधिक जनशक्ति निर्माणका लागि समयको मागअनुसारको शिक्षा आजको आवश्यकता भएको बताए । उनले शिक्षा नै विकासको आधार भएकाले उत्कृष्ट शिक्षा र त्यसको वातावरणबारे सोच्न तमु विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा तमु धिँ नेपालका क्षेत्रीय तमु समाजहरूको तर्फबाट कोल्माबहाकोट तमु समाजका अध्यक्ष पूर्णबहादुर गुरुङ, ‘शिक्षा, शिक्षा, शिक्षा’ अभियानकर्ता युग गुरुङलगायतले बधाईसहित शिक्षाको महत्त्वबारे चर्चा गरेका थिए ।

तमु धिँ नेपाल केन्द्रीय युवा समितिका कलाकारहरू र तमु धिँ नेपालका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएर मनोरञ्जन दिलाएका थिए ।

एसईई उत्तीर्ण विद्यार्थीहरूलाई प्रमुख अतिथि मनबहादुर गुरुङ, वडाध्यक्ष दीपेन्द्र मर्सानी, वडा सदस्यहरू लक्ष्मी पहारी, गीता चर्मकार, मादी–३ का वडाध्यक्ष विकास गुरुङ, अभिमुखीकरणकर्ता विकास गुरुङ, तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गिमाया गुरुङ, आमा समितिका केन्द्रीय अध्यक्ष पवित्रादेवी गुरुङ, कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ र स्याङ्जाका अध्यक्ष बालकुमार गुरुङलगायतले टीका, खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अध्यक्ष गुरुङले र सञ्चालन सचिव जुमकाजी गुरुङले गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ‘पर्यटन पूर्वाधार’ शीर्षकअन्तर्गत पोखरा महानगरपालिकामार्फत कार्यान्वयन भएको यो बहुउद्देश्यीय सभाहल करिब ७८ लाख रुपैयाँको लागतमा हालै निर्माण सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया