प्रभावकारी बन्दै जलजलाको निशुल्क एम्बुलेन्स सेवा

पर्वत ।
पर्वतको जलजला गाउँपालिकामा सञ्चालित निःशुल्क एम्बुलेन्स सेवा ज्येष्ठ नागरिक, गरिब तथा असहायका लागि वरदान सावित भएको छ। गत आर्थिक वर्षमा मात्रै लक्षित वर्गका ३ सय २७ जनासहित ९ सय ५८ जनाले यो सेवा लिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले केही वर्षअघिदेखि एम्बुलेन्स सेवा सुरु गरेको थियो। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले लक्षित वर्गलाई निःशुल्क र अन्यलाई सशुल्क सेवा दिइँदै आएको बताए। उनका अनुसार गत वर्ष निःशुल्क सेवा लिनेमा ७० जना गर्भवती र सुत्केरी, ९९ जना ज्येष्ठ नागरिक, ११० जना गरिब तथा असहाय, पाँच जना अपाङ्गता भएका व्यक्ति र ४३ जना आर्थिक अवस्था कमजोर भएका अन्य नागरिक छन्।
“समस्यामा परेका र आर्थिक अवस्था कमजोर भएका नागरिक यसबाट निकै लाभान्वित भएका छन्। समयमै उद्धार हुँदा धेरैको ज्यान जोगिएको छ। आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउनेछौँ,” अध्यक्ष आचार्यले भने।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, गरिब तथा असहायलाई लक्षित वर्गमा राखी निःशुल्क सेवा प्रदान गर्दै आएको छ। अन्य नागरिकलाई सुलभ दरमा सेवा दिँदा गत वर्ष रु. ११ लाख ३ हजार ६ सय २३ राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले जानकारी दिए।
यो एम्बुलेन्स सेवा बेनी अस्पताल, धौलागिरि अस्पताल (बाग्लुङ), पर्वत अस्पतालदेखि पोखरा र काठमाडौँसम्मका बिरामीका लागि उपयोगी भएको छ। “सेवा सञ्चालन भएपछि समयमै गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति, मातृशिशु मृत्युदर न्यूनीकरण र नागरिकको स्वास्थ्य सुधारमा सहज भएको छ,” प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने।
गाउँपालिकामा हाल दुईवटा एम्बुलेन्स सञ्चालनमा छन्। एउटा प्रवासी नाग्लीवाङवासीको सहयोगमा खरिद गरिएको हो भने अर्को भारतीय दूतावासले उपलब्ध गराएको हो। दुवै एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाताको व्यवस्था गरिएको छ। “मापदण्डअनुसार भाडादर निर्धारण गरिएको छ। लक्षित समुदायको सेवाका लागि गत आर्थिक वर्षमा रु. ५ लाख बजेट विनियोजन गरिएको थियो। सेवालाई प्रभावकारी बनाउन इच्छुक दाताले सञ्चालक समितिको खातामा रकम जम्मा गर्ने व्यवस्था पनि मिलाइएको छ,” आचार्यले थपे।
सेवा आवश्यक परेमा २४सै घण्टा सञ्चालनमा रहने निःशुल्क टेलिफोन (टोल-फ्री) नम्बर १८१०५०००१६८ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ। रासस








काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया