ऐनापहरामा ‘स्काइ वाक’ सञ्चालन

समाधान संवाददाता २०८२ साउन ४ गते १०:२१

दमौली ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काइ वाकका लागि प्रतिव्यक्ति २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।


ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । १५ लाख रुपैयाँ लगानीमा स्काइ वाक निर्माण गरिएको हो ।


कुल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइलाबीचमा एक फिटको खाली स्थान राखिएको छ । उनले भने, ‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।’

Advertisement


यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।


पृथ्वी राजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रूपमा विकास भएको छ । बिदा र शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।

Advertisement


ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । उनले भने, ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा अगाडि बढाएको छ । राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।’


ऐनापहराबाट गाउँपालिकाले ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।


यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ ।


ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न आयोजनाको विस्तृत प्रतिवेदनअनुसार १० करोड बजेट आवश्यक पर्छ । प्रतिवेदनअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया