छुन नपाइने त्यो दिन

मनीषा लामिछाने २०८२ साउन ४ गते १०:३८

सानो भाइ खेल्दाखेल्दै लड्यो ।
रुँदै ‘दिदी!’ भनेर बोलायो । हातमा गहिरो चोट लागेको थियो, पीडाले छटपटाइरहेको थियो । म हेरेर बसेँ, मन रोयो – तर म जान सकिनँ ।
कसैले रोकेको थिएन, म आफैँ रोकिरहेकी थिएँ ।
किनभने म रजस्वला थिएँ… र मेरो मनले भन्यो – ‘छुनु हुँदैन ।’
त्यो दिन म दिदी भएर पनि आफ्नै भाइलाई छुन नसकेको त्यो पीडा आज पनि मनको गहिराइमा घोचिरहन्छ ।
र मनमै प्रश्न उठ्छ – ‘कसले बनायो त्यो ‘मनको जेल’ जहाँ म आफ्नो भाइलाई पनि छुन सकिनँ?’

Advertisement


म गाउँमै हुर्किएकी हुँ । यहाँ छोरी ठूलो हुन थालेपछि ऊ कहिले रजस्वला हुन्छे भनेर समाजका मान्छेले आँखा गाडेर हेर्छन् । रजस्वला भएपछि पहिलो पटक उनलाई भुइँमा सुताइन्छ, भाँडाकुँडाबाट छुट्याइन्छ, अनि भनिन्छ – ‘अब तँ अपवित्र भइस् ।’
त्यसपछि हरेक महिनाको ४–५ दिन एउटै नियमः


कसैलाई नछुने, भान्सामा नजाने, देवता त छुनै नहुने, दूध नछुने, शिर नुहाउने, पूजा कोठा नहेर्ने । यी सब नियमहरू ‘धर्म’का नाममा थोपरिएका हुन्छन् ।
तर वास्तवमा यी नियमहरूले के गर्छ भने – एक किशोरीको मनमा अपराधबोध भर्छ, लाजको भारी बोकाउँछ, अनि उसलाई समाजको किनारमा पुर्‍याउँछ ।
केही वर्षअगाडि सरकारले ‘छाउपडी मुक्त देश नेपाल’ भनेर घोषणा गर्‍यो – कानुन बने, कागजमा छाउगोठ हटाइए ।
तर यथार्थ ?

Advertisement

‘त्यो दिन मैले छोइनँ भाइलाई, तर आज म छुन्छु समाजलाई – कलमले, आवाजले, र सत्यले ।’


अस्ति भर्खरै कञ्चनपुरको एक गाउँमा छाउगोठमा सुतिरहेकी महिलाको सर्पले टोकेर ज्यान गयो ।
यही हो त ‘छाउपडी मुक्त’ नेपाल ? कानुनले झुपडी भत्कायो होला, तर मनमा उभिएका ती परम्परा र डरका पर्खालहरू अझै उस्तै छन् ।

Advertisement


आज पनि गाउँघरमा हाम्रा दिदीबहिनीहरू चिसो भुइँमा एक्लै सुतिरहेका छन् ।
छाउपडीको झुपडीले मात्र होइन, समाजको नजरले पनि उनीहरूलाई बहिष्कृत गरिरहेको छ ।
यो केवल मेरो कथा मात्र होइन, त्यो दिन मेरो भाइ चिच्याइरहेको थियो, अनि म हेरिरहेकी थिएँ — माया भएर पनि नछुने, डरले होइन — ‘मनले भन्यो, पाप लाग्छ’ भनेर । आज सम्झिँदा मलाई लाग्छ, त्यस दिन मैले माया गुमाएँ — अनि मानवता पनि ।
तर म मात्रै होइन, यस्ता कथाहरू गाउँघरका हरेक घरमा छन् ।


हामीमध्ये धेरैले रजस्वला हुँदा आफ्ना दाजुभाइलाई छोएनौँ, र त्यसलाई धर्म ठानेर चुपचाप टुलुटुलु हेर्यौँ ।
अब परिवर्तनको समय हो, हामी अब चुप बस्न मिल्दैन । अब छाउपडीको झुपडी होइन, चेतनाको घर बनाउने समय हो । रजस्वला – यो कुनै पाप होइन, यो त सृष्टिको चक्र हो । मासिक धर्म हुनु कुनै शर्मको कुरा होइन । यो हाम्रो शरीरको, जीवनको एउटा स्वाभाविक र गौरवपूर्ण अवस्था हो ।


– ‘छुन नपाइने दिनहरू सकिए ।’
– ‘छोरीहरू अब रातमा होइन, उज्यालो चेतनामा बाँच्छन् ।’
– ‘रजस्वला अपवित्रता होइन, शक्ति हो ।’
आज पनि त्यो भाइको आँसु सम्झिँदा मन भारी हुन्छ ।
तर अब म बोल्न सक्छु । लेख्न सक्छु । परिवर्तन माग्न सक्छु ।
किनभने आज मलाई थाहा छ –
‘त्यो दिन मैले छोइनँ भाइलाई, तर आज म छुन्छु समाजलाई – कलमले, आवाजले, र सत्यले ।’

तपाईको प्रतिक्रिया