प्रजातान्त्रिक विचार समाजमा वक्तृत्वकला कार्यक्रम

समाधान संवाददाता २०८२ साउन ४ गते १५:३०

Advertisement

पोखरा । प्रजातान्त्रिक विचार समाज कास्कीको आयोजनामा शनिबार विद्यार्थी लक्षित वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

साहित्यकार एवम् जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवसको सन्दर्भ पारेर समाजले ‘वर्तमान सन्दर्भमा बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद’ शीर्षकमा उक्त कार्यक्रम गरेको हो। प्रतियोगितामा कास्की जिल्लाका कक्षा ११ र १२ तर्फका २६ जना तथा विश्वविद्यालयतर्फ विभिन्न क्याम्पसका २१ जना गरी जम्मा ४७ जनाको सहभागिता थियो।

Advertisement

प्रतियोगिताबाट कक्षा ११ र १२ तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः जस्मिन रानाभाट, अदिति पराजुली, गीता किसान र स्मृति लम्सालले प्राप्त गरे। यसैगरी विश्वविद्यालयका क्याम्पसतर्फ सुस्मिता चौधरी, स्वस्तिका क्षेत्री, वृन्दा सुवेदी र विप्लवी न्यौपानेले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरे। पुरस्कारको राशि प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र पन्ध्र सय राखिएको थियो।

बोल्ने क्रममा वक्ताहरूले बिपी कोइरालाले परिकल्पना गरेको प्रजातन्त्र, राष्ट्रियता र समाजवादलाई वर्तमानमा नेतृत्व गर्नेहरूले पालना गर्ने हो भने देश सुशासन र समृद्धितर्फ अघि बढ्ने ठोकुवा गरे। विद्यार्थीहरूले बिपीको देश सुहाउँदो शासन व्यवस्था, भ्रष्टाचारमुक्त शासनप्रणाली, समतामूलक समाजको निर्माण र उत्पादन तथा वितरणमा समान सहभागिता भन्ने मान्यता आजका सन्दर्भमा सार्थक रहेको धारणा व्यक्त गरे। सहमति, मेलमिलाप र सहकार्यलाई आत्मसात नगर्दा धेरै समस्याहरु आएकोतर्फ पनि उनीहरुले संकेत गरे।

Advertisement

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवम् विश्लेषक विश्व सिग्देलले आलोचनात्मक सोच र निरपेक्ष भएर बुझ्न सक्ने सामर्थ्यबाट नै असल व्यक्ति बन्न सकिने धारणा राखे।

यसैगरी जनप्रिय क्याम्पस संचालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, प्राडा कुसुमाकर न्यौपाने, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल, विचार समाजका पूर्व अध्यक्ष धर्म अधिकारी, प्रा. पदमशरण रेग्मी, पूर्व केन्द्रीय सदस्य हेरम्बप्रसाद कोइराला, सूर्यभक्त सिग्देललगायतले प्रजातान्त्रिक विचार नै विश्वको सर्वोत्तम दर्शन भएकोमा जोड दिए। उनीहरुले विद्यार्थीलगायत युवावर्गलाई राष्ट्र र समाजप्रति सकारात्मक भाव जगाउन पनि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने भएकाले यस प्रकारका कार्यक्रमको निरन्तरताको कामनासँगै आयोजकलाई धन्यवाद दिए।

प्रतियोगितामा प्राडा जगन्नाथ रेग्मी, उपप्राध्यापक वेदहरि तिमिल्सिना, उपप्राध्यापक बिन्दु पौड्याल र उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठीले निर्णायकको जिम्मेवारी लिएका थिए। कार्यसमितिका सचिव डा. विष्णुप्रसाद शर्माले सहजीकरण गरेको उक्त कार्यक्रममा उपाध्यक्ष नारायणसिंह गुरुङले स्वागत र कार्यक्रमको अध्यक्षता कार्यसमिति प्रमुख शिशुकला पराजुलीले गरेकी थिइन्।

तपाईको प्रतिक्रिया