एनआरएनए निर्वाचनः दक्षिण अष्ट्रेलियाका लागि पोखराका कृष्णप्रसाद भण्डारीसहित ‘टिम एसए’ मैदानमा

समाधान संवाददाता २०८२ साउन ४ गते १६:०४

अष्ट्रेलिया, ४ साउन
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल २०८२–२०८४ का लागि दक्षिण अष्ट्रेलियाबाट ‘टिम एसए’ चुनावी मैदानमा छ । ‘समुदायका लागि भरपर्दो र परिक्षित टिम’ भन्ने नारासहित सार्वजनिक गरिएको उक्त टिममा विभिन्न पृष्ठभूमिका अनुभवी तथा क्रियाशील व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा छन् ।


दक्षिण अष्ट्रेलियाका लागि थिर गुरुङ टिमको नेतृत्व गर्दै राज्य संयोजक पदका उम्मेदवार रहेका छन । उनलाई सहकार्य गर्न गणेश पराजुली (राज्य सह–संयोजक) र युवराज पहाडी (राज्य सचिव) रहेका छन । अन्य मुख्य पदाधिकारीहरूमा कृष्ण प्रसाद भण्डारी (राज्य सह–सचिव), बसन्त सापकोटा (राज्य कोषाध्यक्ष), र भोलाराम सुवेदी, राजिव बस्नेत (राज्य समन्वय परिषद् सदस्य) रहेका छन । युवाको प्रतिनिधित्वमा तारा चौधरी (युवा संयोजक), विकास पौडेल (युवा सह–संयोजक), संगम पाण्डे, सरोज न्यौपाने, र सुसिल रानाभाट (राज्य युवा सदस्य) को उम्मेदवारी रहेको छ ।


महिला सहभागिता सुनिश्चित गर्न कुशुम पौडेल (महिला सह–संयोजक) र तारा चौधरी (महिला संयोजक) को उम्मेदवारी रहेको छ । यस टिममा विभिन्न सल्लाहकार र सदस्यका रूपमा बिदुर भट्टराई, प्रेम निरौला (सुबास), बिष्णु चापागाईं (राष्ट्रिय समन्वय परिषद् सदस्य) पनि समावेश छन । टिमको सन्देशमा सामुदायिक हित, पारदर्शी नेतृत्व र कार्यान्वयनमुखी प्रतिबद्धता प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।

Advertisement


निर्वाचन साउन १० गते (जुलाई २६) मा तोकिएको छ । जसका लागि अहिले तयारी तीव्र भइरहेको छ । टिम एसएले लामो समयदेखि नेपाली समुदायमा विभिन्न सामाजिक, सांस्कृतिक, र सहयोगमूलक क्रियाकलापमा सक्रिय रहँदै आएको दाबी गर्दै समुदायको विश्वास जित्ने लक्ष्य लिएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया निर्वाचनले प्रवासी नेपालीहरूको हकहितको संरक्षण र प्रवासी समुदायबीचको एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसपटकको निर्वाचनमा पनि सक्रिय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

Advertisement

पोखराका कृष्णप्रसाद भण्डारीको उम्मेदवारी


यो टिममा पोखराका कृष्णप्रसाद भण्डारीले राज्य सह–सचिव पदमा उम्मेदवारी दिएका छन् । अनुभव, अध्ययन र सेवाभावको त्रिवेणी बोकेर अघि बढेका भण्डारी हाल ‘टिम एसए’ का उम्मेदवारका दिएका हुन् ।

पोखरा महानगरपालिका–२३ स्थायी बासिन्दा भण्डारी हाल दक्षिण अष्ट्रेलियाको अडिलेड शहरमा स्थायी बसोबास गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य तथा राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । नेपालमा झण्डै आठ वर्षसम्म विद्यालय तथा कलेजहरूमा अध्यापन गरिसकेका भण्डारी हिमाल व्यवस्थापन कलेजका सञ्चालक समितिका सदस्यसमेत रहेका थिए ।


स्नायु भाषिक कार्यक्रम (एनएलपी) तथा प्रशिक्षक प्रशिक्षक तालिम (टिओटी) लगायतका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण प्राप्त गरेका उनी एक प्रेरणादायी वक्ता (मोटिभेसनल स्पिकर) पनि हुन् । उनले नेपालका विभिन्न शहरहरूमा विद्यालय, कलेज, बैंक, सहकारी संस्था, प्रत्यक्ष बिक्री संस्था (डाइरेक्ट सेलिङ), जीवन बीमा कम्पनी, लायन्स क्लब, जेसीज लगायत थुप्रै संघसंस्थामा नेतृत्व विकास तथा व्यक्तित्व निर्माणसम्बन्धी तालिमहरू सञ्चालन गरेका छन् ।


उनले नेपालमा ‘ईजी एकेडेमी’ नामक तालिम केन्द्र सञ्चालन गरेका थिए । सन् २०२२ को अप्रिल महिनामा अष्ट्रेलिया आएका भण्डारीले यहाँ पनि प्रत्यक्ष तथा अनलाइन माध्यमबाट विभिन्न प्रशिक्षणहरू सञ्चालन गरिरहेका छन् । दक्षिण अष्ट्रेलिया पुगेपछि पनि उनी अडिलेड नेपाली समाज तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाद्वारा आयोजना गरिएका अधिकांश कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । सामुदायिक सेवामा निरन्तर क्रियाशील रहेका भण्डारीले प्रवासी नेपाली समुदायमा एकता, आत्मबल र सशक्त नेतृत्व विकास गर्न आफू तत्पर रहेको बताए ।

‘गैरआवासीय नेपाली संघ केवल पदको होड होइन, सेवाको माध्यम हो’, भण्डारी भन्छन्, ‘मैले सिकेको, पढेको र बाँडेका अनुभवहरू अब समुदायलाई फिर्ता दिने समय आएको छ ।’ उनले पारदर्शिता, समावेशी सहभागिता, युवा तथा महिलाको सशक्तिकरण, र तालिममुखी अभियानमार्फत प्रवासी नेपाली समाजलाई अझ सशक्त र आत्मनिर्भर बनाउने अठोट व्यक्त गरे ।

तपाईको प्रतिक्रिया