पर्वतमा पहिरोले पुरिएर वृद्ध दम्पतिको मृत्यु, बुहारी घाइते

समाधान संवाददाता २०८२ साउन ४ गते १९:०९

पोखरा ।
पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीस्थित लाङ्दीमा आइतबार बिहान पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतिको मृत्यु भएको छ । निरन्तर परेको वर्षाका कारण आइतबार बिहान करिब चार बजे घरमाथिबाट खसेको पहिरोले छविलाल विश्वकर्मा र उनकी पत्नी विष्णुमती बिकको ज्यान लिएको हो ।


दुवै जना ७६ वर्षका थिए । पहिरोले घर पुरिएपछि उनीहरु बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार स्थानीय बासिन्दाले बिहानैदेखि खोजी थालेका थिए । खोजीका क्रममा आइतबार बिहान करिब सवा नौ बजेतिर छविलालको शव पहिरोस्थलमै फेला परेको थियो भने विष्णुमतीको शव दिउँसो भेटिएको हो ।


शवहरू पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पर्वतमा राखिएको छ । घटनास्थलमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको थियो । तर पहिरोका कारण गाउँतर्फ जाने सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

Advertisement


उक्त घरमा बस्दै आएकी छविलाल दम्पतिकी बुहारी ३२ वर्षीया पवित्रा बिक पहिरोमा परेर घाइते भएकी छन् । पहिरोले ढाड र कोखमा चोट लागेकी पवित्राको प्रादेशिक अस्पताल पर्वतको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा हेमन्त बास्तोलाले उनको अवस्था खतरामुक्त रहेको जनाएका छन् ।


लगातारको वर्षाले पर्वतका विभिन्न स्थानमा पहिरोको जोखिम बढिरहेको भन्दै स्थानीय प्रशासनले सतर्क रहन अनुरोध गरेको छ । प्रहरी निरीक्षक सापकोटाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै अन्य जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया