एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

समाधान संवाददाता २०८२ साउन ४ गते १९:४७

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उनीहरूबीच ‘वान टु वान’ भेटवार्ता भएको हो।

भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिइन्। ‘उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो’, उनले सञ्चारकर्मीलाई भनिन्, ‘अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुने छ।’

Advertisement

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिइन्। उनीहरूबीच करिब डेढ घण्टा कुराकानी भएको हो। पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलोपटक एमाले मुख्यालय च्यासल पुगेकी हुन्। उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले स्वागत गरेका थिए।

उनले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसकेकी छिन्। यो विषयले एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो। एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा अधिकांश पोलिटब्युरो सदस्यले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा रहिसकेको व्यक्ति पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया