चौकीदार नियुक्ति विवादले कास्की कारागार तनावग्रस्त, कैदीबन्दी दुई खेमामा

समाधान संवाददाता २०८२ साउन ४ गते १९:५७
फाइल तस्बिर

पोखरा।

कास्की कारागारको नेतृत्वमा नयाँ चौकीदार नियुक्तिको निर्णयसँगै त्यहाँका कैदीबन्दी प्रदर्शनमा उत्रिएका छन्। कारागार व्यवस्थापन विभागले आफूहरूले चाहेको व्यक्तिलाई बेवास्ता गर्दै अजय गुरुङलाई जिम्मेवारी दिएको भन्दै कैदीबन्दीको एक समूहले नाराबाजीसहित विरोध जनाएको हो।

‘क’ ब्लकका प्रदर्शनकारी कैदीबन्दीले दुई कार्यकालअघिका चौकीदार प्रकाश गुरुङलाई नै फिर्ता ल्याउनुपर्ने माग राखेका छन्। उनीहरूले प्रकाशको समर्थनमा चर्का नारा लगाएका थिए। कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले आन्दोलन शान्तिपूर्ण रहेको बताए पनि कैदीबन्दीले भित्र टायर बालेर आक्रोश व्यक्त गरेका छन्।

Advertisement

यो विवादले कारागारभित्र रहेका कैदीबन्दी स्पष्ट रूपमा दुई समूहमा बाँडिएका छन्, जहाँ एक पक्ष अजय गुरुङको समर्थनमा छ भने अर्को पक्ष प्रकाश गुरुङको पक्षमा प्रदर्शनमा उत्रिएको हो। सूचना अधिकारी कुँवरका अनुसार प्रकाशको समर्थन गर्नेहरूको संख्या ठूलो देखिन्छ। ‘क’ ब्लकमा मात्रै हाल चार सयभन्दा बढी कैदीबन्दी रहेका छन्।

प्रशासनले विभागको निर्णय फिर्ता हुने सम्भावना नरहेको बताएको छ, तर तनाव मत्थर पार्न कैदीबन्दीसँग छलफल जारी रहेको कुँवरले उल्लेख गरे।

Advertisement

विवादको जड के हो?

चौकीदार पदका लागि तीन जनाको नाम विभागसमक्ष सिफारिस गरिएको थियो, जसमा प्रकाश गुरुङ पनि थिए। तर, विभागले अजय गुरुङलाई छनोट गरेपछि विवाद चर्किएको हो। आन्दोलनकारीका अनुसार प्रकाश हाल नाइकेको भूमिकामा छन् र कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका छन्। नवनियुक्त चौकीदार अजय पनि सोही मुद्दामा कैद भुक्तान गरिरहेका छन् भने सिफारिसमा परेका तेस्रा व्यक्ति प्रशान्त थापा लागुऔषध मुद्दाका कैदी हुन्। प्रकाश र अजय दुवै करिब सातदेखि आठ वर्षदेखि जेलमा रहेको बताइएको छ। विभागले आइतबार नयाँ चौकीदार नियुक्त गर्ने निर्णय गरेको थियो।

कैदीबन्दीले चौकीदार नियुक्तिमा राजनीतिक पहुँच र आर्थिक लेनदेनसमेत भएको गम्भीर आरोप लगाएका छन्। पार्टीनिकट बिचौलियाले आफ्नो आर्थिक लाभका लागि कैदीबन्दीमाझ अलोकप्रिय व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको उनीहरूको दाबी छ।

तपाईको प्रतिक्रिया