पोखराको प्रतिभा माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०८२ साउन ५ गते १४:५९

पोखरा ।

प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि सोमबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले उद्घाटन गरे । प्रमुख अतिथि आचार्यले पोखरा विभिन्न तरिकाले परिचित भईरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । पोखरामा उत्कृष्ट विद्यालयहरु संचालन भएको अवस्थामा पोखरा शिक्षाको राजधानी बन्दै गएको आचार्यले बताए ।

Advertisement

‘पोखरा पर्यटकीय राजधानी भनिएजस्तै पोखरा शैक्षिक राजधानी पनि बनिरहेको छ । ठूला र उत्कृष्ट विद्यालयले पोखराको शैक्षिक पहिचान फराकिलो बनाईरहेका छन,’ आचार्यले भने । जिवनको गोरेटो कस्तो बनाउने भन्नेमा विद्यार्थी आफैले ध्यान दिनुपर्ने आचार्यको सुझाव छ ।

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जिन्दगीमा सुख दुख धेरै हुने भएपनि प्रगतिशिल हुन विद्यार्थीलाई सुझाए । उनले विद्यार्थीलाई सकारात्मक सोँच राख्न पनि सुझाव दिए । ‘जिन्दगीमा सुखदुख धेरै नै हुन्छन । त्यसैले प्रगतिशील हुनुपर्छ । सधैं सकारात्मक सोचौं, त्यसो भयो भने सफलता हात पार्छ,’ उनले भने, ‘विद्यार्थी सफल हुनका लागि उनीहरुमा मेहनत जरुरी छ । विद्यार्थीले मेहनतका साथ अध्ययन गर्ने हो भने लक्ष्यमा पुग्न सहज हुन्छ ।’

Advertisement

कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पुरा गर्नका लागि विद्यालय सदैंव तयार रहेको बताए । विद्यार्थीले आफुले आफुमा भएको क्षमता पहिचान गर्न नसक्दा कहिलेकाँही समस्या हुने गरेको प्राचार्य सापकोटाले बताए । ‘आफैले आफैलाई चिन्न नसक्दा कहिलेकाँही गलत दिशातिर जान सकिन्छ । त्यो बेला सचेत हुनुपर्छ,’ उनले भने, ‘आफ्नो क्षमता आफैले पहिचान गर्ने हो । क्षमता बुझेर अघि बढ्नुपर्छ ।’ प्राचार्य आचार्यले आफ्नो जात, धर्म, आर्थिक अवस्था, सामाजिक हिसाबले प्रगतिको सपना देख्नबाट नरोकिन विद्यार्थीलाई सुझाव पनि दिए ।

‘जिवनमा धनी र शक्तिशाली भन्दा असल मान्छे बन्नुपर्छ,’ नवआगन्तुक विद्यार्थीलाई सुझाव दिँदै उनले भने, ‘त्यसका लागि मेहनत चाहिन्छ । उनले प्रतिभा माविले विद्यार्थीलाई संस्कार सहितको शिक्षा दिने बताए । ‘प्रतिभा माविले किताबी ज्ञान मात्र दिँदैन, व्यक्ति र ब्यक्तित्व निर्माण गर्न सघाउँछ, त्यसैको प्रमाण हो–विद्यालयले देशभित्र मात्र नभई विदेशमा पनि पहिचान बनाउन सकेको छ,’ उनले भने ।

उक्त कार्यक्रममा गायिका समीक्षा अधिकारीले विभिन्न गीत गाएर मनोरञ्जन पस्केकी थिईन । अधिकारीले पोखरामै उत्कृष्ट शैक्षिक संस्थाको पहिचान प्रतिभाले बनाएर सिंगो गण्डकी प्रदेशकै पहिचान बढाएको बताईन ।

प्रतिभा संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए । ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामि दिनमा ती प्रतिभा अझै थपिनेछन,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’

प्रतिभा माविले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि पनि कार्यक्रम राख्ने प्राचार्य सापकोटाले जानकारी दिए । सोमबारको कार्यक्रममा नवआगन्तुत विद्यार्थी सहित उनीहरुका अभिभावक पनि सहभागी थिए । कार्यक्रममा एसइइमा चार जिपिए ल्याएर प्रतिभामा भर्ना भएका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया