‘घुस डिल’मा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई अख्तियारले बयानमा बोलायो

पोखरा।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘गोप्य घुस डिल’मा मुछिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई बयानका लागि बोलाएको छ। पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा व्यक्तिका नाममा दर्ता गराउन भएको भनिएको सेटिङको अडियो सार्वजनिक भएपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो।
के हो लिची बगान प्रकरण?
गत साता पोखराको बाटुलेचौरस्थित बहुमूल्य जग्गा (लिची बगान) मालपोत र भूमि आयोगका कर्मचारीलाई प्रभावमा पारेर व्यक्तिका नाममा ल्याउने योजनासहितको अडियो संवाद सार्वजनिक भएको थियो। उक्त अडियोमा तत्कालीन मन्त्री गुप्ता, बहालवाला भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र तत्कालीन भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको संलग्नता रहेको सुन्न सकिन्छ।
भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा भएको भनिएको उक्त संवादमा बिचौलिया लामा र एक महिलासँग मन्त्री गुप्ताले डिल गरेको देखिन्छ। सोही संवादमा मन्त्री अधिकारीले आफ्नो छोरामार्फत घुस बुझेको र सचिव पोखरेलले योजनाअनुसार काम गराउन ५ लाख रुपैयाँ नगद र महँगो मदिरा लिएको दाबी गरिएको छ। यो प्रकरण सार्वजनिक भएपछि यसले राजनीतिक र प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ।
पछिल्लो अवस्था
घुस डिलको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका मन्त्री गुप्ताले गत असार ३१ गते पदबाट राजीनामा दिएका थिए। तर, यही प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने अझै पदमै छन्। उनले पत्रकार सम्मेलन गरेर आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
गुप्ता र अधिकारी दुवै नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। अख्तियारका एक अधिकारीका अनुसार अडियोमा जोडिएका सबै व्यक्ति र विषय अनुसन्धानको दायरामा छन् र बयान लिने क्रम सुरु भएको छ। घुस प्रकरणको केन्द्रमा रहेको जग्गा हत्याउने खेल र त्यसमा उच्च पदस्थहरूको संलग्नताको विषयमा अख्तियारले गहिरो अनुसन्धान गरिरहेको बुझिएको छ।








काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया