१२ लाख चोरेर भागेका युवक २४ घण्टामै पक्राउ

समाधान संवाददाता २०८२ साउन ५ गते १५:२२

पोखरा । पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माछापुछ्रे गाउँपालिका–९ का २३ वर्षीय ओमबहादुर भुजेल छन्। उनको साथबाट प्रहरीले चोरी भएको मध्ये ९ लाख ९७ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका–५ मालेपाटनस्थित ‘दाङ भ्याली फ्रेस हाउस’की सञ्चालक संगिता भण्डारीको कोठाबाट साउन २ गते राति उक्त रकम चोरी भएको थियो। भण्डारीले दराजमा राखेको रकम हराएको भनी प्रहरीलाई जानकारी दिएकी थिइन्।

सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा भुजेललाई प्रहरीले साउन ३ गते राति पोखरा–६ डिकोपाटनबाट पक्राउ गरेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (प्रनाउ) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका भुजेललाई कास्की जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

Advertisement

तपाईको प्रतिक्रिया