पोखरामा गड्यौला मलको व्यावसायिक खेती, महिला उद्यमीको आम्दानीको स्रोत

वासुदेव पौडेल २०८२ साउन ५ गते १५:५०

गण्डकी ।  पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगर व्यावसायिक गड्यौला मल खेतीतर्फ आकर्षित बनेका छन्। निलबाराही कृषि तथा भर्मीकम्पोस्ट एग्रो फर्म सञ्चालन गर्दै आएका उनीहरूले गड्यौला मल खेती गर्दै त्यसबाट पर्याप्त आम्दानी गरिरहेका छन्। उनीहरूले गड्यौला मलको खेतीसँगै तरकारी र घाँसको खेती पनि गरिरहेका छन्।

उक्त फर्मकी सञ्चालक लक्ष्मी अधिकारीले पछिल्लो समयमा गड्यौला मलको माग बढ्दै गएको बताइन्। उनले आफ्नो फर्मबाट प्रतिकिलो रु ५० का दरले गड्यौला मल बिक्री भइरहेको जानकारी दिइन्। सुरुवातमा थोरै क्षेत्रफलमा गरिएको गड्यौला मलको खेती अहिले करिब डेढ रोपनी क्षेत्रफलमा गरिएको उनले बताइन्।

गड्यौला मलको खेतीका लागि भक्तपुरको बोडेबाट गड्यौला ल्याउने गरिएको जानकारी दिँदै अधिकारीले आफूहरूले ठूलो मात्रामा गड्यौला मल उत्पादन गर्ने गरेको जानकारी दिइन्। प्रत्येक तीन महिनाको अवधिमा गड्यौला मल तयार हुने उनले बताइन्। हालसम्म एउटा याममा एक हजार किलोसम्म गड्यौला मल तयार हुने गरेकामा अब भने क्षेत्र विस्तारपछि दुई हजार किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य राखिएको अधिकारीले बताइन्।

Advertisement

गड्यौला खेतीको क्षेत्र विस्तारका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्कीबाट ५० प्रतिशत अनुदानस्वरूप रु चार लाख सहयोग प्राप्त भएको अधिकारीले बताइन्। गड्यौला मल प्रांगारिक खेतीका लागि अति उत्तम मानिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख माधवप्रसाद लम्सालले बताए। विशेषतः थोरै क्षेत्रफलमा खेती गर्ने, कौसी खेती गर्नेका लागि रासायनिक मलको प्रयोगको विकल्पमा गड्यौला मल रहेको छ।

‘पछिल्लो समयमा पोखरामा कौसी खेतीको चलन बढ्दो छ’, अधिकारीले भनिन्, ‘थोरै मात्रामा कौसी खेती गर्नेका लागि यो रोजाइमा पर्ने गरेको छ।’ रासायनिक मलको विकल्पका रूपमा यो मल रहेको उनले बताइन्। गड्यौलाले खाएर पचाएर दिशाको रूपमा फालेको मलमा भएका खाद्यतत्व पानीमा घुलनशील हुन्छन्, जसलाई बिरुवाले सजिलैसँग ग्रहण गर्न सक्छ। यस मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ।

Advertisement

यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी हुन्छ। व्यावसायिक गड्यौला मल खेतीमा सम्भावना देखेरै आफूहरू यसतर्फ आकर्षित बनेको टीकामाया मगरले बताइन्। व्यावसायिक गड्यौला मलखेतीका माध्यमबाट आयआर्जन गर्ने लक्ष्यका साथ आफूहरू निरन्तर यसमा लागिपरेको उनको भनाइ छ। रासस

तपाईको प्रतिक्रिया