
गण्डकी।
उत्पादनमा आधारित समाजवादको लक्ष्य लिएको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले गण्डकीका विभिन्न जिल्लामा गरी झन्डै १५ बिघामा सामूहिक रोपाइँ गरेका छन्। एकमहिने उत्पादन अभियानअन्तर्गत कास्की, बाग्लुङ, स्याङ्जा, गोरखा, म्याग्दी लगायतका जिल्लामा सामूहिक रोपाइँ गरिएको नेकपा गण्डकी प्रदेश इन्चार्ज उमा भुजेलले जानकारी दिइन्।
उनका अनुसार नेकपाले गत असार १० देखि यही साउन १० गतेसम्म अत्यावश्यकबाहेक पार्टीका अन्य कामलाई थाती राखी सबै तहका नेता तथा कार्यकर्ता उत्पादनमा जोडिने निर्णय गरेको थियो। पार्टीको सोही नीतिअनुसार महासचिव नेत्रविक्रम चन्द लगायत देशभरका नेताकार्यकर्ता अहिले रोपाइँमा व्यस्त रहेको प्रदेश इन्चार्ज भुजेलले बताइन्। उनका अनुसार कास्कीको पोखरा महानगरपालिका–१४ छिनेडाँडामा एक बिघा क्षेत्रफलमा रैथाने जेठोबुढो धान रोपिएको हो।
छिनेडाँडामा रहेको परम्परागत घरसहित १४ रोपनी जग्गा भाडामा लिई नेकपाले केही वर्षअघिदेखि कृषि उत्पादन गर्दै आएको छ। पार्टीको प्रदेश कार्यालय पनि सोही स्थानबाट सञ्चालित रहेको इन्चार्ज भुजेलले बताइन्। लमजुङ र गोरखा जिल्ला पार्टी कमिटीको संयुक्त पहलमा गोरखाको पालुङटार नगरपालिका–३ स्थित भडारथोक, तल्लोसेरा फाँटको ४५ रोपनी क्षेत्रफलमा रोपाइँ गरिएको इन्चार्ज भुजेलले जानकारी दिइन्।
यसैगरी, आइतबार बाग्लुङको बाग्लुङ नगरपालिका–१२ अमलाचौरको कमेरेमा रहेको भैरवस्थान गुठीको सात रोपनी खेतमा रोपाइँ गरिएको नेकपाका पोलिटब्युरो सदस्य एवं बाग्लुङ जिल्ला इन्चार्ज आजाद केसीले जानकारी दिए। ‘पूजा सञ्चालनका लागि चाहिने धान गुठीलाई दिने र बाँकी आम्दानी पार्टीले लिने गरी रोपाइँ गरिएको छ’, उनले भने, ‘जिल्ला तहका नेताकार्यकर्ता गरेर हामी ३५ जना जति रोपाइँमा खटियौँ।’ समृद्धिका लागि उत्पादनमा जोडिने पार्टीको नीतिअनुसार सामूहिक रोपाइँ गरिएको इन्चार्ज केसीले बताए।
उनका अनुसार नेकपाले बाग्लुङको निसीखोला गाउँपालिकाको देवीस्थानमा कागती र सुन्तलाखेती तथा ढोरपाटन नगरपालिका–९ मा टिमुर र दाँते ओखरको खेती गरेको छ। मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ वटै जिल्लाका नेताकार्यकर्ता कृषि उत्पादनमा जोडिएको सो पार्टीले जनाएको छ। पोखराको छिनेडाँडामा गरिएको आलुखेतीबाट गत हिउँदमा झन्डै रु तीन लाख बराबरको आम्दानी भएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिए। अकबरे खुर्सानी पनि बाहिर निर्यात गर्नेगरी उत्पादन भइरहेको कार्यालय सचिव क्षेत्रीको भनाइ छ।
देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले केही महिनाअघि काठमाडौंमा ‘सी व्यापार केन्द्र’ समेत सञ्चालनमा ल्याएको थियो। उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ। गत वर्ष पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पनि उक्त केन्द्रमा बिक्रीका लागि पठाइएको थियो।
पार्टी महासचिव चन्द आफैँ कृषिकर्ममा जोडिएर नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरेको पोलिटब्युरो सदस्य केसीले बताए। ‘मुलुकको समृद्धिका लागि सामूहिक उत्पादन प्रणालीमा जोडिनुपर्ने पार्टीको नीति र सिद्धान्तको व्यावहारिक कार्यान्वयनका लागि हामी व्यावसायिक कृषिकर्ममा जोडिएका हौँ’, उनले भने, ‘भूगोल र मौसमअनुसारको अन्नबाली र तरकारीखेती गरिएको छ।’
प्रदेश इन्चार्ज भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रूपमा नेता–कार्यकर्ता खट्ने गरेको बताइन्। ‘प्रदेश कार्यालयबाट कृषि उत्पादनमा दैनिक रूपमा जोडिने साथीहरू सात/आठ जना छन्’, उनले भनिन्, ‘आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउँछन्।’
इन्चार्ज भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बाग्लुङ, गोरखा, लमजुङ लगायत जिल्लामा नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादनमा जोडिएका छन्। व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई आकर्षित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको उनको भनाइ छ।
कृषि उत्पादनको क्षेत्र विस्तार गर्दै जाने र किसानलाई पनि जोड्ने पार्टीको योजना रहेको इन्चार्ज भुजेलले बताइन्। सामूहिक उत्पादन अभियानले व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्ने र राजनीतिक दलहरूप्रतिको दृष्टिकोण पनि बदलिने नेकपाका नेता कार्यकर्ताको विश्वास छ। रासस










रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया