मदरल्यान्ड माविमा अभिमुखीकरण

डा भगवान कोइराला भन्छन् : देश बिग्रेको छैन

समाधान संवाददाता २०८२ साउन ६ गते ११:१२

पोखरा ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला देश बिग्रेको छ भन्ने मान्न तयार छैनन् । आफूले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकाले देश बिग्रेको नभई सप्रेको डा कोइरालाको तर्क छ ।


पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने भाष्य सिर्जना भएको छ । युवाको विदेश पलायनको ताँती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ । तर, डा कोइराला यस्तो खाले भाष्यप्रति फरक मत राख्छन् ।


पोखराको मासवार स्थित मदरल्यान्ड माविले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसइइ) सकेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि आयोजित कार्यक्रममा डा कोइरालाले भने, ‘देश बिग्रेको छैन, बरु सप्रेको छ । देश बिग्रियो भनेर भाष्यमात्र बनेको हो । मैले देख्दादेख्दै देशले धेरै कुरामा फड्को मारेको छ, देश बनेको छ ।’

Advertisement


नेपाल सबैतिर बिग्रियो भनेरमात्र नकाारात्मक भाष्य बनेको उनले बताए । ‘हो, केही ठाउँमा बिग्रेको पनि छ । तर मैले हेर्दाहेर्दै नेपालले ठूलै फड्को मारेको छ । भौतिक संरचना बनेको बन्यै छन्, समग्रमा हामी अघि बढेका छौं,’ उनले भने ।


सरकारले बनाइदिएको र सिर्जना गरेको काम मात्र गरेर नहुने उनले विद्यार्थीलाई सुझाए । ‘नयाँ नयाँ काम आफैं थालनी गर्ने हो भने हाम्रो हाम्रै देशमा पर्याप्त सम्भावना छ । जहाँ चुनौती बढी छ, त्यहाँ सम्भावना पनि रहन्छ,’ कोइरालाले भने । कोइरालाले आफ्नो जीवन कालमा गरेको अनुभव अनुसार नेपालमा जत्तिको सम्भावना र काम गरेर पहिचान कमाउने ठाउँ अन्यत्र छैन ।

Advertisement

हो, केही ठाउँमा बिग्रेको पनि छ । तर मैले हेर्दाहेर्दै नेपालले ठूलै फड्को मारेको छ
डा भगवान कोइराला


‘विदेशमा बस्दा पनि यस्तो पहिचान थिएन । हो, नेपालमा केही दुख छ, नेपालमा केही समस्या छन् । सुशासनको विषयमा चुनौती छ । तर, यही बसेर सच्चाउनुपर्छ । बाहिर बसेर देशलाई सरापेर मात्र हुँदैन,’ उनले भने । एसइई पछिको नयाँ विषय छनोटबारे सुझाउँदै कोइरालाले विद्यार्थीमा नयाँ च्याप्टर सुरुवात हुने भएकाले त्यही अनुसार अघि बढ्नुपर्ने बताए ।


‘११ कक्षा नयाँ सुरुवात हो, यो तहको अध्ययनले भविश्यको जग बसाल्ने काम गर्छ । तपाइँ भविश्यमा के विषयमा प्रवेश गर्ने, के मा विशेषज्ञता हासिल गर्ने भनेर यही तहमा निर्भर रहन्छ,’ उनले भने, ‘एकै पटक सबै कुरा अहिले नै निर्णय गरिहाल्नुपर्छ भन्ने छैन । कुनै पनि विषय अहिले नै भन्नुपर्छ भन्ने पनि छैन । तर, चाहना बुझेर पछि पेशा परिवर्तन गर्न सकिन्छ ।


एसइई पछिको २ वर्ष गम्भीर रुपमा अध्ययन गर्ने, अन्तरक्रिया गर्ने, नेटवर्किङ विस्तार गर्ने समय भएकाले त्यही अनुसार विद्यार्थी अघि बढ्नुपर्ने उनको सुुझाव छ । उनले सबै विषय महत्वपूर्ण रहेको पनि बताए । ‘सबै विषयमा उत्तिकै अवसर छ । संगीत र खेलकुदको महत्व नबुझेर हो,’ उदाहरण दिँदै डा. कोइरालाले भने, ‘समाजमा सबै विषय चाहिन्छ । रुचिका साथ पढ्ने हो भन सबै विषयको ज्ञान उत्तिकै जरुरी छ ।’


विद्यालयले आयोजना गरेको उक्त कार्यक्रमको मेडिकल क्षेत्रको प्रवेश परीक्षाका लागि तयारी गराउँदै आएको संस्था नेमका सञ्चालक डा नवीन शर्मा र वरिष्ठ न्यूरो सर्जन डा सागर कोइरालाले उद्घाटन गरेका थिए । शर्मा र कोइरालाले विद्यार्थीलाई सुझाउँदै विषय छनोटमा विशेष ध्यान दिनुपर्ने बताए । भविष्य बुझेर बेलैमा विषय चयन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।


विद्यालयका प्राचार्य डा नारायण बरालले सफल नागरिक बन्नका लागि अबको पुस्ताले ध्यान दिनुपर्ने बताए । ‘जीवनमा सफल हुने उद्देश्य लिएर अघि बढ्नुपर्छ,’ डा बरालले भने, ‘असल नागरिक बनेर अबको पुस्ताले देखाउनुपर्छ ।’ प्राचार्य बरालले कुनै पनि विषयमा सफलता हात पार्न उत्तिकै मेहनत जरुरी रहेको बताए ।


विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विद्यार्थीको अबको २ वर्ष निकै नै महत्वपूर्ण हुने बताए । ‘२ वर्ष गरेको मेहनतले भविश्य उज्ज्वल हुन्छ । उपयुक्त विषय बेलैमा छनोट गर्दा ध्यान दिनुपर्छ,’ उनले भने ।


विद्यालयका निर्देशक डा त्रिभुवन शर्माले विद्यार्थीमा मेहनत जरुरी रहेको बताए । सबै विषय उत्तिकै महत्व रहेकोले त्यही अनुसार विद्यार्थीले अध्ययन गर्नुपर्ने निर्देशक शर्माले बताए । स्वागत र उत्प्रेरणामूलक उक्त कार्यक्रममा विद्यार्थीले नवआगन्तुक विद्यार्थीका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि पस्केका थिए ।

तपाईको प्रतिक्रिया