पोखराको पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा

समाधान संवाददाता २०८२ साउन ६ गते ११:३१

लेखनाथ ।
पोखरा आसपासका क्षेत्रमा ओझेलमा परेका स्थानको पहिचान गराउँदै त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग गर्न साइकल यात्रा गरिएको छ । साइकल यात्राको माध्यमबाट कास्कीका बिभिन्न पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ भन्ने सन्देश दिने उदेश्यले कोराराइड २०२५ (धार्मिक मठ, मन्दिर, गुम्वा, चर्चको घडीको सुई घुम्ने दिशामा घुमेर परिक्रमा गर्ने) आयोजना गरिएको हो ।

आरबी निर्माण सेवाको प्रायोजन र साइकल सिटी कास्कीको सहकार्यमा शनिबार ५५ किलोमिटरमा ६० जनाभन्दा बढी साइकल यात्री सहभागी बने । पोखराको अमरसिंह चौरबाट सुरु भएको साइकल यात्रीका सहभागीलाई साइकल सिटी अध्यक्ष श्यामकृष्ण श्रेष्ठले खादा तथा माला लगाई यात्रा सुरुआत गरेका थिए ।


साइकल यात्रीहरु भद्रकाली, राखी, कालिका, माझठाना, बेगनास, रुपाताल हुँदै पृथ्वीराजमार्गबाट पुनः अमरसिंहमा आइपुगेको कार्यक्रम संयोजक विजय लामाले जानकारी दिए । ९ वर्षदेखि ७० वर्षसम्मका साइकल यात्रीहरु यसमा सहभागी थिए ।

Advertisement


यात्रामा पोखरा २८ को कालिका मन्दिर व्यवस्थापन समिति, कालिका लायन्स क्लब र ओख्लेमा स्थानीय आमा समूहले स्वागत गरेका थिए । रुपातालको खोलाको छेउमा रुपा युवा क्लबले स्वागत गरेको साइकल यात्री चक्रपाणि बरालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया