जन्मजात अपांगता भएकी युवतीलाई घरमै नागरिकता

समाधान संवाददाता २०८२ साउन ६ गते ११:३७

दमौली (तनहुँ) ।

 जन्मजात शारीरिक अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने तनहुँकी एक युवतीलाई घरमै नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। म्याग्दे गाउँपालिका–१ गुणादीकी २० वर्षीया नवीना खनाललाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार उनको घरमै पुगेर नागरिकता हस्तान्तरण गरे।

विसं २०६२ मा जन्मेकी नवीनाको आमाको निधन भइसकेको छ भने बुबा पहिचान भएका छैनन्। ७७ वर्षीय हजुरबुबा बासुदेव खनालले उनको पालनपोषण गर्दै आएका छन्। नागरिकता नहुँदा उनले अपाङ्गता परिचयपत्र (रातो कार्ड) भएर पनि सामाजिक सुरक्षा भत्ता पाउन सकेकी थिइनन्।

Advertisement

जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण विवरण तयार पारी औंठाछापका लागि मात्र प्रमुख जिल्ला अधिकारीको टोली नवीनाको घर पुगेको थियो। “अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि हामीले घरमै पुगेर नागरिकता दियौँ,” प्रजिअ अधिकारीले भने, “यस्ता कार्यले सरकारप्रतिको भरोसा बढाउँछ।”

स्थानीय जनप्रतिनिधि र प्रशासनको पहलमा नागरिकता पाएपछि अब नवीनाले अपाङ्गता भत्ता पाउने बाटो खुलेको म्याग्दे–१ का वडाध्यक्ष मणिभद्र वाग्लेले बताए। नागरिकता प्रदान गर्दा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलगायत उपस्थित थिए। रासस

Advertisement

तपाईको प्रतिक्रिया