कुम्ले खोलामा ३ करोडमा मोटरेबल पुल

दुलेगौँडा ।
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ स्थित तीनखोले देवी मोटर मार्गअन्तर्गत कुम्ले खोलामा निर्माण गरिएको १७.८० मिटर लामो र ७ मिटर चौडाइको डबल सेल बक्स मोटरेबल पुलको शनिबार उद्घाटन गरिएको छ । करिब २ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण भएको यो पुल स्थानीय पूर्वाधार विकास आयोजनाको बजेटमा सम्पन्न भएको हो ।
उदघाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा पूर्व वनमन्त्री माननीय शंकर भण्डारी सहभागी रहे । उनले देश र जनताको सेवा नै सबैभन्दा महत्वपूर्ण भएको बताउँदै विकास र समृद्धिको मार्गमा सबै तह र निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले धार्मिक, कृषि तथा पर्यटनको समायोजनमार्फत गाउँमा रोजगारी सिर्जना गरी युवा पलायनलाई रोक्न सकिने धारणा व्यक्त गरे ।
शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले पुल निर्माण कार्य समयमा सम्पन्न गर्न सफल भएकोमा निर्माण कम्पनी, जग्गादाताहरू र स्थानीयवासीप्रति आभार व्यक्त गरे । उनले नगरपालिकाले व्यावसायिक कृषि तथा उत्पादनमुखी योजनालाई प्राथमिकतामा राखेको जानकारी गराए ।
तीनखोले मोटर मार्ग निर्माण समितिका अध्यक्ष बालकुमार बाग्लेले २९ वर्षअघि सुरु भएको मार्गले अब टोल र बजारलाई सशक्त रूपमा जोडेको बताउनुभयो । तीनखोले पूजाअनुष्ठान व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पुलको निर्माण ऐतिहासिक भएको धारणा राखे ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कास्कीका वरिष्ठ इन्जिनियर रविन पन्थीका अनुसार पुल निर्माण कार्य २०८१ असार १४ मा सुरु भई २०८२ असार ३० मा सम्पन्न भएको हो । वोयस्टन कन्स्ट्रक्सन प्रालि, गुल्मीका ठेकेदार गगन केसीले स्थानीय सहयोगका कारण निर्माण कार्य समयमै सम्पन्न भएको बताए ।
भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठी, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति डा. कृष्णप्रसाद गौतम, वडाध्यक्ष बुद्धिबहादुर थापा, कांग्रेस र नेकपाका स्थानीय नेताहरु तथा स्थानीय समितिका पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए ।
यो पुलको निर्माणसँगै खैरेनीटार बजार, जाम्दी, तीनखोले देवी मन्दिर, छहरे, कदमे, बयागाम, कुशे, पोखरीथोक, सर्वलाङ, राङकोट, शालघारी, दोहोरीबाट, कालिमर्याङ, कमलबाटे लगायतका गाउँहरु जोडिनेछन् । पुलबाट ६ हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया