पोखरामा नवजात शिशु हत्या प्रकरण: १० महिनापछि आफ्नै बाबु पक्राउ

समाधान संवाददाता २०८२ साउन ६ गते १६:०८

पोखरा

गत असोजमा पोखराको चाउथेमा फ्याँकिएको अवस्थामा फेला परेको नवजात शिशुको हत्यामा संलग्न भएको आरोपमा शिशुका बाबुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले करिब १० महिना लामो अनुसन्धानपछि शिशुका बाबु नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-५ घर भई हाल पोखरा-९ नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, लामिछानेलाई यही साउन ४ गते आफ्नी श्रीमतीलाई सुत्केरी गराउन पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको अवस्थामा पक्राउ गरिएको थियो।

Advertisement

के थियो घटना?

मिति २०८१ असोज १३ गते साँझ करिब ५:१५ बजे पोखरा-१४, चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा एउटा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेको थियो। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले झोला खोल्दा प्लास्टिक र रातो-गुलाबी रङको कम्बलले बेरिएको अवस्थामा छोरा जातको शिशुको शव बरामद गरेको थियो।

Advertisement

प्रहरीले शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। पोष्टमार्टम रिपोर्टमा शिशुको मृत्यु घाँटी र टाउकोमा लागेको गहिरो चोटका कारण भएको खुलासा भएपछि प्रहरीले यो घटनालाई कर्तव्य ज्यान मुद्दाको रूपमा अनुसन्धान अगाडि बढाएको थियो।

लामो अनुसन्धानपछि पक्राउ

घटनालगत्तै संलग्न व्यक्तिको पहिचान हुन नसके पनि प्रहरीले सुक्ष्म अनुसन्धान जारी राखेको थियो। अनुसन्धानकै क्रममा प्रहरीले शिशुका बाबु गोविन्द लामिछाने भएको यकिन गरी उनको खोजी गरिरहेको थियो। अन्ततः उनलाई १० महिनापछि त्यही अस्पतालबाट पक्राउ गर्न प्रहरी सफल भयो, जहाँ शिशुको पोष्टमार्टम गरिएको थियो।

पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया