पोखराका तीर्थ गुरुङको ‘हिउँको गीत’ मदन पुरस्कारको उत्कृष्ट सूचीमा

समाधान संवाददाता २०८२ साउन ६ गते १६:३५


पोखरा ।


पोखरा बसेर साहित्य सिर्जना गर्दै आएका साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ को उत्कृष्ट ७ कृतिभित्र पर्न सफल भएको छ । एक दशकअघि आफ्नो पहिलो उपन्यास ‘पाठशाला’ बाटै मदन पुरस्कारको उत्कृष्ट सूचीमा परेर चर्चामा आएका गुरुङको कृति दोस्रोपटक यो प्रतिष्ठित पुरस्कारको अन्तिम दौडमा छनोट भएको हो ।

यसअघि विसं २०७० मा उनको उपन्यास ‘पाठशाला’ मदन पुरस्कारको संक्षिप्त सूचीमा परेको थियो, जसले उनलाई नेपाली साहित्यमा एक सशक्त लेखकको रूपमा स्थापित गरेको थियो । गुरुङको १५ कथाहरुको संग्रह अपा क्हार्प पनि प्रकाशित छ ।

Advertisement


मदन पुरस्कार गुठीले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०८० सालमा प्रकाशित र पुरस्कारका लागि प्राप्त भएका कुल २९९ कृतिहरूबाट निर्णायक समितिले छानेका सात पुस्तकको नाम सार्वजनिक गरेको हो । यस वर्षको उत्कृष्ट सातको सूचीमा गुरुङको ‘हिउँको गीत’ सँगै छुदेन काविमोको उपन्यास ‘उरमाल’, रमेश भुसालको यात्रा संस्मरण ‘छालबाटो ः कैलाशदेखि गंगासम्म’, कुमारी लामाको आख्यान ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको कविता र संस्कृतिमा आधारित कृति ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको उपन्यास ‘बहुरुपी’ र पत्रकार सुधीर शर्माको ऐतिहासिक अनुसन्धानमा आधारित गैरआख्यान कृति ‘भिक्षु, व्यापार र विद्रोह’ परेका छन् ।


गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको संक्षिप्त सूचीमा आख्यान र गैरआख्यान दुवै विधाका अब्बल पुस्तकहरूले स्थान बनाएका छन्, जसले नेपाली साहित्यको वर्तमान विविधता र उचाइलाई प्रतिबिम्बित गर्दछ ।

Advertisement


२०१२ सालमा रानी जगदम्बाकुमारी देवीले आफ्ना दिवंगत पति जनरल मदनशमशेर जबराको स्मृतिमा स्थापना गरेको मदन पुरस्कार नेपाली वाङ्मयको सबैभन्दा पुरानो र निरन्तर प्रदान गरिने सम्मानित पुरस्कार हो । ४ लाख रुपैयाँ राशिको यो पुरस्कार राशिभन्दा पनि यससँग जोडिएको सम्मान र प्रतिष्ठाका कारण लेखकहरूका लागि विशेष महत्वको मानिन्छ । मदन पुरस्कार जित्नुलाई नेपाली साहित्यमा एक महत्वपूर्ण उपलब्धि र लेखकको साहित्यिक यात्रामा कोसेढुंगाका रूपमा हेरिन्छ ।


गुठीले हरेक वर्ष निर्धारित समयभित्र प्रकाशित भएका पुस्तकहरूलाई पुरस्कारका लागि आह्वान गर्दछ । प्राप्त पुस्तकहरूलाई गुठीद्वारा गठित एक स्वतन्त्र निर्णायक समितिले महिनौँ लगाएर अध्ययन र मूल्यांकन गरी पहिले संक्षिप्त सूची तयार पार्छ र अन्ततः सोही सूचीबाट एक कृतिलाई वर्षको सर्वश्रेष्ठ कृतिका रूपमा छनोट गरी पुरस्कार प्रदान गर्दछ । गत वर्ष यो पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले प्राप्त गरेको थियो । अब उत्कृष्ट सातको घोषणापछि सबैको नजर अन्तिम नतिजामा केन्द्रित भएको छ । गुठीले केही समयपछि ‘मदन पुरस्कार–२०८१’ को विजेता घोषणा गर्नेछ । सोही समारोहमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक साधकलाई ‘जगदम्बा–श्री पुरस्कार’ पनि प्रदान गर्ने परम्परा छ ।

तपाईको प्रतिक्रिया