–कास्की कारागार अशान्त–

‘चौकीदार नियुक्ति विवादमा ज्यान मार्ने धक्की’

चौकीदार नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको आरोप

सञ्जय रानाभाट २०८२ साउन ६ गते १७:१०

पोखरा ।


हिरासतबाट कारागार चलान हुनु सामान्य प्रक्रिया हो । तर, कास्कीमा कारागार चलान गरिएका व्यक्तिलाई प्रहरी हिरासतमा फर्काएर सुरक्षित राखिएको छ । त्यसको कारण हो–कास्की कारागारभित्र चुलिएको अशान्ति । आइतबार कारागार व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ का लागि अजय गुरुङलाई नयाँ चौकीदार नियुक्त गरेपछि कैदीबन्दीहरू विरोधमा उत्रिएका हुन् ।

उनीहरूले कारागारभित्र नयाँ चौकीदारको विरोध गर्दै ब्यानर र पम्प्लेटसहित धर्ना दिइरहेका छन् । चौकीदारबाट आफूहरु असुरक्षित रहेको भन्दै उनीहरुले २ दिनदेखि कारागार मुल प्रवेशद्वारमै धर्ना दिइरहेका हुन् । उनीहरुले विगतका चौकीदार प्रकाश गुरुङलाई नै चौकीदार नियुक्त गर्नुपर्ने र नयाँ नियुक्त भएका अजय गुरुङलाई बहिष्कार गर्ने भन्दै आइतबार साँझदेखि आन्दोलित भएका हुन् ।

Advertisement

आइतबार साँझ कारागारमा झडप भएपछि कारागार प्रशासनले ५ जना कैदीबन्दीलाई ब्लक ‘क’ बाट स्थान्तरण गरेको छ । ५ मध्ये ३ जना मनु परियार, लक्ष्मण ढकाल र सुरज श्रेष्ठलाई ब्लक ‘ख’ मा राखिएको छ भने बाँकी २ जना अजय गुरुङ र प्रकाश गुरुङलाई कास्की प्रहरीको हिरासतमा ल्याएर राखिएको जिल्ला प्रशासन कार्यालय प्रमुख (सिडिओ) रुद्रादेवी शर्माले जानकारी दिइन् ।

‘एकले अर्कोलाई चौकीदार स्वीकार नगरेपछि साँझ झगडा भयो । हामी तत्काल पुग्यौं । मध्यरातसम्म बसेर माहोल शान्त बनाउने काम भएको छ । तर, अझै पनि विवाद सतहमै छ,’ सिडिओ शर्माले भनिन्, ‘हामी छलफलमै छौं । त्यसको समाधानको उपायहरु खोजी रहेका छौं ।’

Advertisement

देशभरिका कारागार प्रशासन सञ्चालन गर्न कारागार व्यवस्थापन विभागले कैदीबन्दीबाटै प्रत्येक आर्थिक वर्षको सुरुआतमा नयाँ चौकीदार नियुक्त गरिन्छ । चौकीदार सरकारी सुविधा पाउने जिम्मेवारी हो । चौकीदार नियुक्त गर्न परीक्षाका जस्तै चरणहरु पार गर्नुपर्छ । त्यसअघि चौकीदार नियुक्त गर्न एउटा समिति बन्छ । त्यो समितिले अन्तर्वार्ता लगायत परीक्षाबाट उत्तीण गरेको व्यक्तिलाई नै कारागार व्यवस्थापन विभागले चौकीदार नियुक्त गर्छ । चौकीदारले तोकिएको तलबभत्ता नेपाल सरकारबाट पाउने कानुनी व्यवस्था छ ।

तर, यसपटक चौकीदार बनेका अजयले कैदीबन्दीलाई सुरक्षा दिन नसक्ने, कारागारभित्र आर्थिक शोषण गर्ने, कारागारभित्र हुनुपर्ने सुशासन कायम गर्न नसक्ने भन्दै कैदीबन्दी विरोधमा उत्रेका हुन् । उनीहरुले मेलमार्फत गृहमन्त्रीलाई सम्बोधन गरेर निवेदनसमेत पठाएका छन् ।

‘अजय गुरुङले यस कारागार क ब्लकमा रहेका कैदीबन्दीहरुको हकहित तथा सुरक्षा गर्न नसक्ने, निजको कार्यशैली निरंकुश तथा पक्षपातपूर्ण छ र कैन्दीबन्दीको आर्थिक शोषण हुन्छ,’ उनीहरुले गृह मन्त्रालयलाई पठाएको निवेदनमा भनिएको छ, ‘आफ्नो चौकीदार आफैं नियुक्त गर्न पाउने अधिकार हनन भएको हुँदा अजयको चौकीदार भूमिका खारेज गरी छनोट प्रक्रियाको प्रतिस्पर्धामा रहेका प्रकाश गुरुङलाई चौकीदार पदमा नियुक्त गरियोस् । त्यसमा हामी यस ब्लकका ३ सय ६६ मध्ये ३ सय ६२ जनाको हस्ताक्षर यसै निवेदनमा संलग्न छ ।’

अजयलाई चौकीदार नियुक्त गर्नुअघि सिफारिस समितिले उनको नाम कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको थियो । त्यसमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय अधिकृत, जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर गणेश पाण्डे र कारागार प्रशासन प्रमुख राजेन्द्र शर्मा संयोजकत्वमा गठित ४ सदस्यीय समितिले नयाँ चौकीदार नियुक्तिका लागि कारागार व्यवस्था विभागमा ‘नाम’ सिफारिस गरेको थियो ।

‘हामीले कारागारमा गतिविधि, व्यवस्थापकीय भूमिका लगायत सबै कुरा मूल्यांकन गरेर अन्तर्वार्ता लिएका थियौं । छनोट भएका ५ जना मध्ये ३ जनाको नाम सिफारिस गरेका थियौं,’ कारागार प्रशासनले स्रोतले भन्यो, ‘चौकीदार बन्ने लाइनमा मनु परियार, लक्ष्मण ढकाल, सुरज श्रेष्ठ, अजय गुरुङ र प्रकाश गुरुङ थिए ।’ उनीहरु सबैलाई यो समितिले अन्तर्वार्ता लिएको थियो ।
कैदीबन्दीहरुले प्रकाश गुरुङलाई नै नयाँ चौकीदारमा निरन्तरता दिन माग गरेको दाबी गरेका छन् । आफूले भनेको नभएपछि कैदीबन्दीहरुले चौकीदार नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् । ‘कारागारमा भएका प्रतिस्पर्धी बाहेक सबैले अर्थात् सत्प्रतिशत मान्छेले भनेको व्यक्तिलाई चौकिदार बनाउने सिफारिस गरेपछि किन अर्को व्यक्ति नियुक्त भयो । त्यसमा ठूलो आर्थिक चलखेल भएको छ । त्यसको अनुसन्धान हुनुपर्छ । हामी सबैमाथि अन्यय भएको छ,’ नाइके मनिश अधिकारीले भने ।

सहकारी ठगीको आरोपमा पूर्पक्षका लागि धुनामा रहेका रमण पौडेलले आफूहरुले नयाँ चौकिदारको विरोध गर्दा मार्ने धम्की आएको बताए । ‘हाम्रो ज्यान नै जोखिममा छ । बाहिर पुगेपछि ज्यान मार्ने धम्की दिइएको छ । हामी कसरी उसको नेतृत्वमा सुरक्षित हुन सक्छौं । मेरो व्यक्तिगत माग होइन, सतप्रतिशत मान्छेले नयाँ चौकीदारमा चलखेल भएको र पुरानै चौकीदारलाई निरन्तरता दिनुपर्ने माग भएकोमा किन अन्याय भयो,’ उनले भने ।

१९ वर्षदेखि कैद भुक्तानी गर्दै आइरहेका गुमानसिंह परियारले आफूहरुलाई अहिलेको चौकीदारले मानसिक, सामाजिक, शारीरिक रुपमा सहयोग गर्दै आइरहेकाले सबैको माग पूरा हुनुपर्ने बताए । कैद भुक्तानी गर्दै आइरहेका विष्णु गिरीले आफूहरुको माग पूरा नभए आगामी दिनमा अनसन बस्ने चेतावनी दिएका छन् ।

कारागारमा झडप भएपछि मानवअधिकारकर्मीको टोलीले अनुगमन गरेको छ । इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेल, कोपिला नेपालकी बिना सिलवाल, गैसस महासंघ कास्कीका निर्वतमान अध्यक्ष रामप्रसाद सुवेदी, मानव अधिकार एलायन्स कास्कीका अध्यक्ष मधु पन्थी, नागरिक मञ्च गण्डकीका संयोजक विष्णुप्रसाद बराल लागायले अनुगमन गरेका छन् ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भेटेर कारागारमा कैदीबन्दी र हाल नियुक्त भएका चौकीदार दुवै असुरक्षित हुने भएकाले सुजबुझपूर्ण निर्णय लिन माग गरेका छन् । ‘त्यहाँ एकले अर्कोको अस्थित्व स्वीकार गर्न सक्ने अवस्था हामीले निरीक्षणको क्रममा देख्यौं । त्यसकारण अहिले कदैबन्दी पनि अहिलेको चौकीदारबाट असुरक्षित हुन सक्छन्, त्यसकारण सुझबुझपूर्ण निर्णय लिनुपर्ने देखियो,’ इन्सेक प्रमुख खकुरेलले भने । कारागार प्रमुख राजेन्द्र शर्माले हाल भएको विवाद निरुपण गर्ने प्रक्रियामा रहेको बताएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया