भण्डारी पार्टी राजनीतिमा आउनु हुन्नः ज्ञवाली

समाधान संवाददाता २०८२ साउन ८ गते १०:००

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले बुधबार विचार गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कनु नहुने तर्क गरे ।


उनले मधेसमा राम्रो छवि भएका पूर्व राष्ट्रपति रामवरण यादव राजनीतिमा नफर्केको नजीर पेश गरे । ‘मुलुकको सर्वोच्च संस्था राष्ट्रपति भइसकेको व्यक्ति व्यक्ति प्रत्यक्ष राजनीतिमा आउनु उपयुक्त हुँदैन,’ उनले भने, ‘त्यसैले नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ ।’


उनले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने तर्क गरे । संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुनःसक्रियता संस्थागत मर्यादा विपरीत हुने दाबी गर्दै उनले पूर्वराजाका समर्थकको सक्रियता बढेको सन्दर्भमा गणतन्त्रको रक्षाका लागि मध्यस्तकर्ता बन्नुपर्ने तर्क गरे ।

Advertisement


कतिपय अवस्थामा सभामुख, न्यायाधीश भएको व्यक्तिसमेत प्रत्यक्ष राजनीतिमा आएको सन्दर्भ कोट्याउँदै उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपतिको हकमा भने संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन नहुने निष्कर्षमा पार्टी पुगेको चर्चा गरे ।


उनले राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति भण्डारीप्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने स्पष्ट पारे । फरक प्रसंगमा नेता ज्ञवालीले वर्तमान सरकारले लथालिंग भएको अर्थतन्त्रलाई लयमा फर्काउन सफल भएको बताए । देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको दाबी गर्दै उनले सरकारले यी सबै प्रयत्नलाई चिर्दै अगाडि बढिरहेको बताए ।

Advertisement

संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन नहुने एमालेको निष्कर्ष


सरकार ढल्दैछ भनेर बारम्बार प्रचार गर्ने गरिएको, केही भएन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिगो समाजलाइए गलत दिशातर्फ धकेल्ने प्रयत्न गरिएको उनले उल्लेख गरे । उनले वर्तमान सरकारले मुलुकमा सुशासन र स्थिरता दिन गरेको प्रयासले जनतामा आशा र भरोसा जागेको दाबी गरे ।


नेकपा (एमाले) स्थायी समिति सदस्य खगराज अधिकारीले जति ठूलो व्यक्ति भए पनि पार्टीको निर्णय बेगर चल्न नसक्ने बताए । ठूलो व्यक्ति भएर पार्टी पद्धतिमा नचल्दा संगठनात्मक अराजकता बढेको उनको तर्क छ । उनले पुष्पलालले प्रतिपादन गरेको संयुक्त जनआन्दोलनको नीतिले २०४६ सालको जनआन्दोलन सफल भएको स्मरण गरे ।


अधिकारीले पुष्पलालले सिद्धान्त, संगठन र संघर्ष विना कम्युनिस्ट पार्टी अगाडि बढ्न नसक्ने परिकल्पना गरेको उल्लेख गरे । पुष्पलालले कम्युनिस्ट आन्दोलनमा वैचारिक तथा सांगठनिक नेतृत्व गरेको जानकारी दिदै उनले पुष्पलालको योगदानको सम्मान गर्न पुष्पलाल अध्ययन केन्द्र खोलेको जानकारी दिए ।


कार्यक्रममा एमालेका पूर्व स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी ‘प्यासी’, केन्द्रीय सदस्य कृष्ण थापा, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, एमाले जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामाले नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानबारे चर्चा गरेका थिए ।


कार्यक्रममा जिल्ला सल्लाहकार परिषद् निर्वाचन क्षेत्र समन्वय कमिटी र विभिन्न विभागमा मनोनित पदाधिकारीको संयुक्त रुपमा सपथ गराइएको छ । कार्यक्रममा क्यान्सर रोगबाट प्रभावित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्की अध्यक्ष जनकराज सिग्देलको उपचारका लागि ५० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।


पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल कास्कीले बुधबार खुला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय २ युनिट रगत संकलन भएको अध्यक्ष उमेश गुरुङ जानकारी दिए । कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज राजीव पहारी, युवा संघ नेपालका केन्द्रीय सचिव मदन भण्डारी, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, युवा संघ नेपाल कास्कीका उपाध्यक्ष रवीन सुनार, सचिव हिमाल गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया