लेखनाथ उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवको विवाद उत्कर्षमा

भीमपाणि बराल २०८२ साउन ९ गते ६:०२

लेखनाथ। यस वर्ष हुने लेखनाथ उद्योग वाणिज्य संघको १५ औँ अधिवेशन तथा २९ औँ वार्षिक साधारण सभाको मिति तोक्ने सवालमा अध्यक्ष विनोद श्रेष्ठ र महासचिव जानुका अधिकारी बिचको विवाद उत्कर्षमा पुगेको छ ।

गत साउन ४ गते संघको बैठकमा आगामी अधिवेशनका लागि भदौको १४ र १५ वा २० र २१ गतेका लागि प्रस्ताव हुँदा निश्चित दिनको टुंगो नलागेपछि अधिकांश सहभागीले २० र २१ को प्रस्तावमा सहमति जनाइरहँदा अध्यक्ष श्रेष्ठले अर्को बैठकमा निर्णय गरौँला भनेर बैठक समापन गरेपछि विवाद चुलिएको हो ।

Advertisement

अध्यक्षको असहमति बिना नै भदौको २० र २१ गते अधिवेशन गर्ने मिति तोकिएको निर्णय लेखिएपछि निर्णय पुस्तिका अध्यक्ष श्रेष्ठले माग्ने र महासचिव अधिकारीले दिन नखोजेपछि असामान्य अवस्था आएको उपस्थित एक सदस्यले नाम नबताउने सर्तमा जानकारी दिए ।

निर्णय पुस्तिका तानातानको अवस्थामा आफूमाथि दुर्व्यवहार भएको भन्दै महासचिव जानुका अधिकारीले गत मंगलबार नै कास्की प्रहरीमा अध्यक्ष श्रेष्ठका विरुद्ध ठाडो उजुरी दिएको बताइन् ।

Advertisement

राजनीतिक आस्था, पूर्व अध्यक्षहरूको कमजोरी र वर्तमान अध्यक्षसँग बढेको असहमतिले छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिँदै

यता अध्यक्ष विनोद श्रेष्ठले ‘संघको विधान त एक महिना अगाडि अधिवेशनको मिति तोक्नुपर्ने र २१ दिनभित्र प्रतिवेदन तयार पारी सदस्यहरूकोमा पुर्‍याउनुपर्ने भएको र गत वर्षका निर्वाचनमा चाँडै मिति तोक्दा उमेदवार हुनेले व्यापार व्यवसाय छोडेर प्रचार प्रसारमा जुट्दा खर्च बढेको विषय उठेकाले आफूले पछि बैठक बसेर एक महिनाको अन्तरमा निर्णय गरौँला भनेको तर यही कुरालाई विषयान्तर गरी हल्ला गरिएको’ प्रतिक्रिया दिए । साथै उनले आफूले बैठक समापन गरेर हिँडेपछि बैठक सकिएको र ‘माइन्युटमा अब केही लेख्ने होइन’ भनी निर्णय पुस्तिका तानेको स्वीकारे ।

उत्पन्न विवादका बारेमा महासचिव जानुका अधिकारीले ‘आफूले जिम्मेवारी वहन गर्दागर्दै भएको दुर्व्यवहारले सिंगो संस्थामा असर पुर्‍याएको र यसभन्दा अगाडि पनि यस प्रकारको व्यवहार भएको’ उल्लेख गर्दै न्यायको खोजीका खातिर ठाडो उजुरी दिएको बताइन् ।

यस वर्ष लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन गर्ने वर्ष भएकाले नै संघमा राजनीतिको कुरा आउनु हुँदैन भनिए पनि उत्पन्न विवाद राजनीतिक आस्थाकै आधारमा सिर्जना भएकाले यस पटकको निर्वाचन व्यवसायीको नभई राजनीतिक पार्टी निकटको हुने त होइन भन्ने चासो आम व्यवसायीमा बढेको छ ।

संघको १५ औँ अधिवेशन तथा २९ औँ वार्षिक साधारण सभाको मिति कानुनतः घोषणा नभए पनि निर्वाचनमा नै केन्द्रित भएर यस वर्ष मात्र चार सय ३९ जना नयाँ सदस्य थपिएर जम्मा दुई हजार १९ जनाले भोट हाल्ने अधिकार प्राप्त गरेका छन् । संघमा गत वर्ष एक हजार छ सय ४० सदस्य रहेकोमा यस वर्ष भोटलाई आधार बनाएर नयाँ सदस्य थपिँदा संघमा वास्तविक व्यवसायी पहिचान नहुने त होइन भन्ने चिन्ता आम व्यवसायीले गर्न थालेका छन् ।

निर्वाचनको माहोल तातिरहँदा राजनीतिक आस्थाकै आधारमा देखिने गरी दुई समूहले आ-आफ्नो टिम बनाएर एक महिना अगाडिदेखि नै चुनावी दौडमा होमिएको देखिन्छ । निर्वाचनका लागि हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका अधिकारीले अध्यक्ष पदका लागि उम्मेदवारी दिने निधो गरेका छन् ।

उनीहरू दुवैले पदाधिकारीसहितको टिम तयार पारे पनि कार्यसमितिका सदस्य लगायत अन्य पदका लागि पर्ख र हेरको अवस्था देखिन्छ । संस्थापन पक्षको प्रतिनिधित्व गर्दै हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको टिममा वर्तमान प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) वरिष्ठ उपाध्यक्षमा, महिला उद्यमी मेनुका श्रेष्ठ प्रथम उपाध्यक्ष, सल्लाहकार धीरज श्रेष्ठ द्वितीय उपाध्यक्ष, महासचिवमा गत वर्ष महासचिव पदमा नै पराजित जीवन तिवारी, उपमहासचिवमा कार्यसमिति सदस्य लक्ष्मी ढुंगाना (एलपी) र कोषाध्यक्षमा कार्यसमिति सदस्य नै रहेका टीकाराम सापकोटा छन् ।

यता महासचिवबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिने निधो गरेकी जानुका अधिकारी पराजुलीको टिमको वरिष्ठ उपाध्यक्षमा पूर्व महासचिव गोपीचन्द्र वास्तोला, वर्तमान द्वितीय उपाध्यक्ष विक्रम श्रेष्ठ प्रथम उपाध्यक्षमा, हालका कोषाध्यक्ष ध्रुवबाबु भट्टराई द्वितीय उपाध्यक्षमा, हालका उपमहासचिव भरतराज ओझा महासचिवमा, कार्यसमिति सदस्य गंगा मल्ल उपमहासचिव र कार्यसमिति सदस्य नै रहेका हरि बस्ताकोटी कोषाध्यक्ष पदमा रहेको बताइएको छ ।


भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया