झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन

बलेवा ।
यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जङ्गल छ । यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो ।
अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका थिए भने हाल आमाहरुले पशुपालनलाई आम्दानीको स्रोत बनाएका छन् । उनीहरुले बाख्रापालनबाटै घर खर्च र बालबच्चा पढाउने खर्च जुटाउन थालेका हुन् । बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेण्ट फाउण्डेसन नामक संस्थाले यहाँका आमाहरुलाई बाख्रापालनसम्बन्धी सीप र बीउ पुँजी उपलब्ध गराएको छ । वडा कार्यालयले त्यसको परिचालन र आवश्यक आहारमा सहयोग गरेको छ ।
साँधखोलास्थित प्रगतिशील महिला समूहमा आबद्ध २६ जना आमाहरुको गोठमा अहिले बाख्राका पाठाहरु हुर्किरहेका छन् । “हामीले बाख्रा त धेरै पहिलेबाट पाल्दै आएका हौँ, अहिले तालिम पाएपछि व्यवस्थित बाख्रापालन सुरु गरेका छौँ”, समूहकी अध्यक्ष कोपिला किसानले भनिन्, “बाख्राबाट आम्दानी गर्ने भनेर हामी मिलेर लागेका छौँ ।” अघिल्लो वर्ष उपलब्ध गराएको बाख्राले आम्दानी दिन थालेपछि यस वर्ष बाख्राका पाठा उपलब्ध गराइएको उनले बताइन् ।
बाख्रापालनमा आबद्ध समूहका आमाहरुले उपयुक्त घाँसको प्रबन्ध गर्न नजिकैको सामुदायिक वनमा घाँसखेती गर्न थालेका छन् । साँधखोला नजिकैको ७० रोपनी सामुदायिक वन क्षेत्रमा झाडी फाँडेर घाँसखेती सुरुआत गरिएको वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए । “चिसो र मलिलो ठाउँ भएकाले हिउँद बर्खा घाँसको खाँचो नहोस् भनेर उन्नत घाँसका बिरुवा लगाइएको छ”, उनले भने, “७० रोपनी क्षेत्रफल २७ जनालाई भाग लगाएर आफ्नो भागमा घाँसको विकास गर्न भनेका छौँ ।”
ऐँसेलु फल्ने पाखोमा अब घाँस रोप्ने अभियान थालिएको समूहकी सदस्य बाटुली किसानले बताइन् । उनले वनमारा मासेर घाँसका बिरुवा हुर्किंदा हरेक गोठमा बाह्रै महिना घाँस पुग्ने बताउनुभयो । आँठो छुटाएर पाखामा बिरुवा लगाउने काम भएकाले आफ्नै बारीको जस्तै घाँसको सुरक्षा गरिने उनले बताइन् । बाख्रा र खोरमा सहयोग गरेको कार्यक्रमले घाँस लगाउन पनि सिकाएपछि महिलाहरु प्रफुल्लित छन् । समूहले किम्बु, सुपर नेपियर, खन्युलगायतका घाँसका बिरुवा रोपेका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया