संसदीय पत्रकार मञ्च गण्डकीको पदभार हस्तान्तरण

समाधान संवाददाता २०८२ साउन ९ गते १७:०२

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको चोथो अधिवेशनबाट निर्वाचित समितिलाई शुक्रबार पदभार हस्तान्तरण गरिएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापा र प्रदेश सभा सचिव हरिराज पोखरेलको उपस्थितिमा पदभार हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा निर्वाचन समिति संयोजक रमेश पौडेलले निर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै सपथ गराए ।

कार्यक्रममा सभामुख धितालले मञ्चले पछिल्ला २ वर्षमा सम्पादन गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्यको अपेक्षा गरे । संघीयताको सुदृढीकरणका लागि प्रदेश सभा पत्रकारसँग सहकार्य गर्न सदैव तयार रहेको उनको भनाइ थियो । पत्रकारको क्षमता वृद्धि मात्र नभएर संसदीय निगरानीमा समेत मञ्च क्रियाशील रहेकामा उनले खुसी व्यक्त गरे । प्रदेश एक्लैले चाहेर मात्र संघीयता सबल नहुने भन्दै उनले यसका लागि ३ तहकै सरकारबीच समन्वय जरुरी रहेको उनको भनाइ थियो ।

Advertisement

उपसभामुख थापाले पत्रकारको दैनिक कामका अतिरिक्त मञ्चले संसदीय निगरानीका काम नियमित रुपमा गर्दै आएको बताइन् । पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सभा सदैव सहयोग गर्न तयार हरेको उनको भनाइ थियो । प्रदेश सभा सचिव हरिराज पोखरेलले मञ्चको आग्रह अनुसार कार्यालयको व्यवस्था गरिएको भन्दै आगामी दिनमा यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

Advertisement

कार्यक्रममा निर्वाचन समिति संयोजक रमेश पौडेलले मञ्चले बिट रिपोर्टिङलाई महत्वपूर्ण रुपमा स्थापित गरेको भन्दै यसले संघीयता सबलीकरणमा सहयोग गरेको बताए ।

निवर्तमान अध्यक्ष भरत कोइरालाले मञ्चले २ वर्षमा गरेका कामका बारेमा जानकारी गराएका थिए । युएनडिपी संसद सहयोग परियोजनासँगको सहकार्यमा विगत २ वर्षदेखि नागरिक सुनुवाई, ओभरसाइटका साथै संसदीय निगारीका कामहरु गर्दै आएको उनको भनाइ थियो । प्रदेश सरकार र प्रदेश सभाका साथै अन्य निकायसँगको सहकार्यमा प्रशिक्षण र संवाद कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी उनले गराए । मञ्चले साधारणसभाबाट विधान संशोधन गरी अब स्नातक तह उत्तीर्ण गरेका पत्रकारलाई मात्र प्रक्रिया पूरा गरी सदस्यता दिने प्रावधान राखेको उनले बताए । साथै मञ्चले संस्थामा आबद्ध पत्रकारका लागि आचारसंहिता समेत लागु गरेको जानकारी उनले दिए ।

कार्यक्रममा निर्वाचन समिति सदस्य केशवशरण लामिछानेले आचारसंहिता लागु गरेर मञ्चले आफूलाई अब्बल र व्यासायिक संस्थाका रुपमा पहिचान दिलाएको बताए । संस्थाका संस्थापक अध्यक्ष समेत रहेका निर्वाचन समिति सदस्य लालप्रसाद शर्माले संस्थाले खादामाला निरुत्साहित गर्दै तडकभडकपूर्ण कार्यक्रमबाट परै रहेको बताए । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफूलाई थप जिम्मेवारी महसुस भएको बताउदै मञ्चले गरेका कार्यलाई निरन्तरता दिने प्रतिबद्वता व्यक्त गरे ।

गत असार २९ गते भएको अधिवेशनले विशन क्षेत्रीको नेतृत्वमा आगामी २ वर्षका लागि समिति निर्वाचित गरेको हो । उपाध्यक्षमा अनुप पौडेल, सचिवमा युवराज गुरुङ युनिश, सहसचिवमा उमा आलेमगर र कोषाध्यक्षमा ऋषिराम बराल निर्वाचित भएका छन् । सदस्यमा दुर्गा राना, विमल तिवारी, चन्द्रिका घिमिरे (अनिता), प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल चयन निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया