रेडक्रस कास्कीलाई सिद्धार्थ क्लबको सहयोग

समाधान संवाददाता २०८२ साउन ९ गते १८:१८

पोखरा ।
मनसुन जन्य विपद्लाई लक्षित गरेर सिद्वार्थ क्लब पोखराले नेपाल रेडक्रस सोसाइटी कास्कीलाई विपद् राहत सामाग्री प्रदान गरेको छ । विपद्बाट प्रभावितलाई प्रदान गर्न क्लबले रेडक्रस कास्कीलाई २५ थान त्रिपाल (साइज १८ह२४) हस्तान्तरण गरेको हो ।


रेडक्रस कास्कीका निवर्तमान सभापति तथा स्वास्थ्य समितिका संयोजक डण्डराज शर्मा पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वको लागि सिद्वार्थ क्लबले देखाएको सक्रियता सराह्रनीय भएको बताए । उनले समग्र विपद् व्यवस्थापनको लागि गर्ने १० क्लष्टरको काम मध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्य सामाग्री व्यवस्थापनको क्षेत्रमा काम गर्ने जनाए ।

‘विपद् तथा मानवीय सेवाको क्षेत्रमा काम गर्ने रेडक्रससँग आफ्नो श्रोत र साधन छैन,’उनले भने, ‘सामाजिक संघ संस्थाबाट सहयोग जुटाएर राहत तथा उद्वारको क्षेत्रमा काम गर्दै आएको छ ।’ उनले रेडक्रस कास्कीले यस्ता सहकार्यलाई उच्च महत्व दिने उल्लेख गर्दै प्राप्त सहयोगलाई आवश्यक समुदायसम्म छिटो र प्रभावकारी रूपमा वितरण गरिने जनाए ।

Advertisement


सिद्वार्थ क्लब पोखराका अध्यक्ष देवेन पराजुलीले रेडक्रस कास्की मार्फत बाढी पहिरोबाट प्रभावितलाई राहत सामाग्री प्रदान गर्न पाउँदा सन्तोष लागेको बताए । उनले आगामी दिनमा समेत मानव कल्याणको काममा क्लब सक्रियतापूर्वका काम गर्ने जानकारी दिए । सामुदायिक विकास कार्यक्रम अन्तर्गत क्लबले स्थानीय श्रोत र साधनको अधिकतम प्रयोग गरी समृद्व र स्वस्थ समाज निर्माणमा ध्यान दिदै आएको छ ।


यसैगरी रेडक्रस कास्कीले मनसुनजन्य विपतमा प्रतिकार्यका कामलाई तिब्रताका साथ अगाडी बढाएको छ । प्रि–मनसुन तथा मनसुनजन्य विपद्का कारण कास्कीमा भएका विपतका घटनाहरूमा तत्काल खोज तथा उद्वारसँगै प्रभावितलाई स्थलगत रुपमा राहत वितरण गरेको रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले जानकारी दिइन् । पहिरो, बाढी लगायतका विपदमा भएको मानवीय पीडालाई कम गर्न शाखाले खाद्य तथा गैरखाद्य सामग्रीहरू विपत प्रभावित समुदायलाई वितरण गरिरहेको छ ।

Advertisement

रेडक्रस कास्की शाखामा मन्त्री सन्तोष अधिकारीले रेडक्रसले वैशाखमा १८ परिवार जेठमा ८ परिवार असारमा २० परिवार र साउनमा ५ परिवारलाई राहत वितरण गरेको जानकारी दिए । यस अवधिमा अन्नपूर्ण गाउँपालिका ८ चिमरुङ, पोखरा १३, पोखरा १९, मादी ६, पोखरा ५ लगायतका क्षेत्रमा राहत वितरण गरिएको छ ।


उनले कास्कीका सरोकारवाला निकाय, सामाजिक संघ संस्थासँगको समन्वय र सहकार्यमा राहत सामाग्रीको संकलन वितरणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको बताए । यस अवधिमा असल छिमेकी नेपाल र डेभिजफल क्लबले त्रिपाल सहयोग गरेका छन् । रेडक्रसको प्राथमिक उपचार, विपद् व्यवस्थापन, स्वयं सेवक परिचालन तालिमबाट दिक्षित दक्ष जनशक्तिहरु मनसुन जन्य विपद्को घटनामा नियमित र निरन्तर रुपमा जोडिएका छन् ।

तपाईको प्रतिक्रिया