२ वर्षभित्र घट्टेखोला–धम्पुस पिच बाटो

समाधान संवाददाता २०८२ साउन ९ गते २०:२१

पोखरा ।

Advertisement

कास्कीको पर्यटकीय गाउँ धम्पुस चाँडै बाटो चाँडै फराकिलो र कालोपत्र हुने भएको छ । हेमजादेखि फेदीसम्म पुग्ने फराकिलो र नमुना बाटोबाट साँघुरो र ठाउँ ठाउँमा कच्ची बाटो हुँदै यात्रा गर्नुपर्ने सकस छिट्टै अन्त्य हुने भएको हो ।

माछापुच्छे्र गाउँपालिका ७ घट्टेखोलाबाट धम्पुस हुँदै खानीगाउँ पुग्ने सडक स्तरोन्नति शुक्रबार सुरुआत गरिएको छ । यो सडक ३० करोड १८ लाखमा स्तरोन्नति हुन लागेको हो ।

Advertisement

नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त सडक स्तरोन्नतिको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले सुरुआत गरे । १३ दशमलव तीन किलोमिटर लामो यो सडकको पहिलो ७ किलोमिटरसम्म अस्फाल्ट पिच गरिनेछ भने बाँकी ६ दशमलव ३ किमी सडकमा डिबिएसटी प्रविधिबाट कालोपत्र हुनेछ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत् बन्ने उक्त सडकको काम २ वर्षभित्र सक्ने गरी २०८१ फागुन २१ मा सम्झौता भएको थियो । यो सडकको लागत ५१ करोड ९८ लाख भए पनि एमएस इकेके–एमसिएसपिएल–बिबिआर जेभीले करिब ४० प्रतिशत घटेर ३० करोड १८ लाखमा सम्झौता गरेको छ ।

Advertisement

भौतिक पूर्वाधार मन्त्री केसीले पर्यटकीय गाउँ धम्पुससम्म पक्की सडक बनेपछि सो क्षेत्रको पर्यटनसहित सबै पक्षमा सकारात्मक प्रभाव पर्ने जनाए । सडक निर्माणको गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै उनले भने, ॅतोकिएको समयमै निर्माण सक्नुहोला । ४० प्रतिशत घटेर ठेक्का भएको छ, गुणस्तरमा सम्झौता हुन नदिने विशेष ख्याल राख्नुहोला ।’

यो सडक निर्माणले स्थानीय अर्थतन्त्र, रोजगारी, तथा सेवा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव पार्ने उनको विश्वास छ । मन्त्रालयले सडकको नियमित अनुगमन गरी समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न भूमिका निर्वाह गर्ने उनले जनाए । ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले यो सडकले सो क्षेत्रमा बहुआयामिक महत्व राख्ने उल्लेख गर्दै समयमै काम सक्ने गरी लाग्न र गुणस्तरमा सम्झौता नगर्न अनुरोध गरे ।

निर्माण कम्पनी एमएस इकेके–एमसिएसपिएल–बिबिआर जेभीमका प्रतिनिधि अनिल घिमिरले शुत्रबारबाटै सडक निर्माण सुरु गरी समयमै सम्पन्न गर्ने वाचा गरे । उनले सडक निर्माणमा आइपर्ने समस्या सुल्झाउन स्थानीयबासी, जनप्रतिनिधि, प्रशासन लगायतको सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, माछापुच्छे्र गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, धम्पुस मोटरबाटो सहयोग समितिका संयोजक जगन गुरुङ लगायतले बोलेका थिए । माछापुच्छ्रे वडा नम्बर ७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीले मापदण्ड बमोजिमको गुणस्तरीय सडक बनाउन आवश्यक जग्गा प्रदान गर्न र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरे ।

ॅयो बाटो बन्नुमा सबैभन्दा बढी जस स्थानीयलाई जान्छ, जसले जग्गा दिनुभयो,’ उनले भने, ॅअब स्तरोन्नतिमा पनि यहाँहरुको उस्तै साथ मिल्ने अपेक्षा छ । यो सडक स्तरोन्नति भएपछि धम्पुससहित यो क्षेत्रकै समृद्धिमा टेवा पुग्ने उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया