गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा । नेपाली कांग्रेसका अग्रज नेता, गण्डकी प्रदेशका पूर्व प्रमुख एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत गुरुङको चितवनको भरतपुर महानगरपालिका-२६, दिव्यनगरस्थित आफ्नै निवासमा शनिबार ७६ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
कास्कीको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरुङले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाए । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी वि.सं. २०२९ सालमा नेपाली कांग्रेसमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिएका हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब ३ वर्ष जेल जीवनसमेत बिताए ।
गुरुङ नेपाली राजनीतिमा निष्ठा, त्याग र सादगीका पर्याय मानिन्थे । पद र शक्तिको लोभ नगरी जीवनभर लोकतन्त्र र पार्टी संगठनप्रति समर्पित रहनु उनको विशिष्ट पहिचान थियो। उनले लामो समय नेपाली कांग्रेस चितवनको सचिव र पछि दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका भएका थिए ।
राजनीतिक जीवनको उत्तरार्धमा उनले २०७८ साउनदेखि २०७९ फागुनसम्म गण्डकी प्रदेशको प्रमुख जस्तो गरिमामय संवैधानिक पदको जिम्मेवारी सम्हाले । प्रदेश प्रमुखको भूमिकामा रहँदा उनले आफ्नो निष्पक्ष र सन्तुलित छविलाई कायम राखेका थिए ।
प्रदेश प्रमुखको जिम्मेवारीबाट बाहिरिएलगत्तै उनलाई क्यान्सर रोग निदान भएको थियो। त्यसपछि भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन। पछिल्लो समय उनलाई दिव्यनगरस्थित निवासमै आरामका लागि राखिएको थियो।
आइतबार बिहान चितवनकै देवघाटमा अन्त्येष्ठि गरिने भएको छ ।
उनको निधनले नेपाली कांग्रेसले एक अभिभावक एवं निष्ठावान नेता गुमाएको छ भने देशले लोकतान्त्रिक आन्दोलनको एक इमानदार सिपाही गुमाएको छ। उनको स्वच्छ छवि र त्यागपूर्ण राजनीतिक जीवन सबैका लागि सधैं प्रेरणाको स्रोत बनिरहने कांग्रेसका नेताहरुले बताएका छन् ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया