निर्धारित समयअगावै पौवै खोला पुल निर्माण सम्पन्न, मन्त्रीद्वारा उद्घाटन

पोखरा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ। सिद्धार्थ राजमार्गको स्याङ्जा र पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत पर्ने खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको हो। पुलको शनिबार गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे।
यो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङ्खोला सिद्धबाबा निर्माण सेवाबीच ०८१ वैशाख १७ मा ठेक्का सम्झौता भएको थियो। ०८२ साउन ६ भित्र निर्माण सक्ने गरी १ करोड ८६ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा ०८२ असार २३ मा सम्पन्न भएको हो। निर्माण व्यवसायीले १ करोड ७५ लाख ६९ हजार रुपैयाँ अन्तिम भुक्तानी पाएको कार्यालय प्रमुख दयाराम अधिकारीले जानकारी दिए। उनका अनुसार ८.४ मिटर चौडाइको पुलमा ६ मिटरमा गाडी गुड्न मिल्ने र दुवैतर्फ गरी २.४ मिटर फुटपाथ निर्माण गरिएको छ।

उद्घाटनपछि बोल्दै भौतिकमन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको गति अघि बढाएको बताए। दैनिक आवतजावत, व्यापार व्यवसाय, कृषि उत्पादनको ढुवानी र अन्य सामाजिक क्रियाकलाप अझ सहज हुने उनले विश्वास व्यक्त गरे। ‘गण्डकी प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाउने, कार्यान्वयन गर्ने र जनतामाझ प्रत्यक्ष लाभ पुग्ने गरी विकासको गति अगाडि बढाइरहेको छ। यही धारणा अनुरूप पौवै खोला सडक पुल पनि जनताको सहज यात्रा, सुरक्षित आवागमन र आर्थिक गतिविधिको सञ्जाल विस्तारमा सहयोगी हुनेछ,’ उनले भने। पुलको नियमित मर्मत सम्भार र दिगोपनका लागि स्थानीयको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका एमाले सांसद सुधिरकुमार पौडेलले नकारात्मक टिप्पणी गरिए पनि प्रदेश सरकारले धेरै राम्रो काम गरिरहेको बताए। ‘प्रदेश संघीयताको कडी हो। प्रदेशप्रति जति नकारात्मक कुरा फैलाइएको छ त्योभन्दा धेरै प्रदेश सरकारले काम गरेको छ,’ उनले भने। बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकलाई स्याङ्जा–पोखरा–तनहुँलाई जोड्न मात्र नभई आर्थिक उपार्जनमा प्रयोग गर्न आवश्यक रहेको उनले बताए। आर्थिक करिडोर र स्याङ्जाको लाइफलाइनको रूपमा विकास गर्न सके राम्रो हुने उनको भनाइ थियो। उनले यो सडक चक्ला पार्न आफूले सक्दो पहल गर्ने बताए। पुलको आवश्यकता देखेर पूर्वसांसद मिनप्रसाद गुरुङले डीपीआर निर्माणमा पहल गरेको भन्दै उनले धन्यवाद दिए।
राप्रपा दल नेता पञ्चराम गुरुङले आवश्यकता धेरै भए पनि महत्त्वपूर्ण पूर्वाधार कुन हो भन्ने पहिचान गर्न आवश्यक रहेको बताए। विकास तत्कालै हुन नसक्ने भएकाले धैर्य हुनुपर्ने उनको भनाइ थियो।
गण्डकी प्रदेशकी पूर्व अर्थमन्त्री एवं एमाले सांसद सीताकुमारी सुन्दासले पूर्वाधार निर्माणमा छोटो समयमै धेरै परिवर्तन भएको बताइन्। विगतमा स्याङ्जाबाट पोखरा हिँडेर ओहोरदोहोर गरेको उनले स्मरण गरिन्। ‘ठूलाडिहीबाट कि बाड्खोला निस्केर जानपर्थ्यो कि यही बाटो हिँडेर पोखरा जानपर्थ्यो। हामी बिहानै आँखा मिच्दै पोखरा जान्थ्यौं,’ उनले भनिन्, ‘आज त बाटो बनिसक्यो। धेरै परिवर्तन भएको छ। कामै नभएको होइन नि।’ विगतमा तत्कालीन आवश्यकता र स्रोत साधनको क्षमताअनुसार पूर्वाधार निर्माण भएकाले अहिले साँघुरो र अपर्याप्त भएको उनले बताइन्। पुराना पूर्वाधारलाई समयानुकूल विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो। ‘हिजो जुन आवश्यकता थियो, जति स्रोत थियो त्यही अनुसार विकास निर्माणका काम भयो। यहाँ बाटो हिजो सानो बन्यो। अब समयानुकूल विकास गर्नुपर्नेछ। यो पनि समयसँगै परिवर्तन हुन्छ,’ उनले भनिन्।
कांग्रेसबाट निर्वाचित प्रदेश सांसद कल्पना तिवारीले सडकलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको बताइन्। पोखराबाट नजिकै रहेकाले होमस्टे सञ्चालन गर्न सके राम्रो हुने विकल्प उनले स्थानीयलाई सुझाइन्। विकासको पूर्णताको विन्दु नहुने भन्दै उनले सडक फराकिलो पार्ने, पुल निर्माण निरन्तर चलिरहने बताइन्।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया