पोखराको नयाँबजार जोन्टेस मोटरसाइकल सोरुम खुल्यो

समाधान संवाददाता २०८२ साउन १० गते २०:१५

पोखरा
चिनियाँ ब्रान्डको जोन्टेस एड्भेन्चर मोटरसाइकल पोखरामा भित्रिएको छ । सञ्चालकहरू आयुष श्रेष्ठ, प्रन्सुमान बिजुक्छे र सृष्टिका बिजुक्छेले पोखराको नयाँबजारमा सो ब्रान्डको मोटरसाइकलको सोरुम सञ्चालनमा ल्याएका हुन् ।


पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सो सोरुम उद्घाटन गरे । अध्यक्ष मर्सानीले पछिल्लो अवधिमा नेपालमा नयाँ नयाँ प्रविधिमा आधारित अटोमोबाइलका साधनहरु बढ्दो मात्रामा भित्रिएको बताए ।


‘बजारमा नयाँ प्रविधिको अवसर र चुनौती दुबै भएकाले भित्र्याउनुको विकल्प छैन,’ उनले भने, ‘किन कि नेपालमा नयाँ प्रविधिको व्यापार सम्भावना छ ।’ अध्यक्ष मर्सानीले जोखिम मोलेर व्यवसाय गर्नेले सफलता हासिल गर्न सक्ने तर्क गरे । युवा स्वदेशमै बसेर व्यवसाय गर्नुपर्ने सुझाव दिदै उनले समस्याबाट भाग्नेभन्दा पनि त्यसको सामना गर्नुपर्नेमा जोड दिए ।

Advertisement


सोरुममा जोन्टेस ३५० टी, जोन्टेस १५० यु १ र जोन्टेस १२५यु १ गरी तीन प्रकारका मोटरसाइकल उपलब्ध छन् । सञ्चालक आयुष श्रेष्ठका अनुसार जोन्टेस ३५० टी को मूल्य १० लाख ९९ हजार, जोन्टेस १५०यु १ को मूल्य ५ लाख ९९ हजार र जोन्टेस १२५ यु १ को मूल्य ४ लाख ३९ हजार कायम गरिएको छ ।


सञ्चालक श्रेष्ठले जोन्टेस मोटरसाइकलमा लाइफ टाइम निशुल्क सर्भिस दिने जानकारी दिए । ग्राहकले एक पटक जोन्टेस मोटरसाइकल खरिद गरेपछि सर्भिसिङका लागि कुनै रकम खर्च गर्नु नपर्ने उनले उल्लेख गरे । उनले फाइनान्सको समेत सुविधा भएकाले ग्राहकलाई मोटरबाइक किन्न सहज हुने बताए । उनले बाइकमा भएका विशेषताका कारण उपभोक्ताको आकर्षण बढ्दै गएको जनाए ।

Advertisement


आइरन मोंकका संस्थापक प्राविधिक प्रमुख कलश तुलाचनका अनुसार पोखरामा जोन्टेसको यो तेस्रो सोरुम हो । यसअघि काठमाडौं र धरानमा जोन्टेसको सोरुम खुलिसकेको छ । अब केही समयपछि नारायणगढ बुटबल लगायतका सहरमा पनि सोरुम खोल्ने तयारी छ । नेपाली काँग्रेस पोखरा महानगर सभापतिसमेत रहेका व्यवसायी सुरेन्द्रमान बिजुक्छेले जोन्टेस ब्रान्डका मोटरसाइकलहरु सुरक्षित, बलियो र आरामदायी रहेको दाबी गरे ।


उनले आफ्नो परिवारले पोखरामा सञ्चालन गरेको सोरुमको उद्घाटन समारोहमा सहभागी सबैलाई धन्यवाद दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ, कवि तीर्थ श्रेष्ठ लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया