कास्कीमा दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की ।
कास्कीमा गत आर्थिक वर्ष २०८१/८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई २ करोड चार लाख ९२ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले दूध उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रतिलिटर ५ रुपैयाँ र दोस्रो चरणमा प्रतिलिटर ३ रुपैयाँका दरले अनुदान दिएको हो ।
व्यावसायिक किसानले उत्पादनका आधारमा अनुदान पाएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए । उनका अनुसार जिल्लाका दुग्ध उत्पादक किसानले समूह तथा सहकारी संस्थाबाट प्रदेश सरकारले दिएको अनुदान रकम पाएका हुन् ।
उनका अनुसार कार्यालयले अनुदानका लागि आह्वान गरेकामा २६ वटा सहकारी संस्था छनोट भएका थिए । सहकारीका माध्यमबाट किसानलाई अनुदान रकम वितरण गरिएको थियो ।
कुल ५१ लाख १४ हजार नौ सय ६३ लिटर दूधमा अनुदान दिइएको कार्यालयले जनाएको छ । उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन नपाउने भएकाले यसप्रति किसानको आकर्षण बढेको पशु विकास अधिकृत पाण्डेले बताए ।
उनले भने, ‘उत्पादन गरेको आधारमा सरकारी अनुदान पाउनुपर्छ भन्ने किसानको माग हो । जसले बढी उत्पादन गर्छ, उसैले सरकारबाट बढी अनुदान रकम पाउने गरी प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन गर्न यस कार्यक्रमले सहयोग पुगेको छ ।’
गण्डकी प्रदेश सरकारले पाँच वर्षदेखि किसानलाई दूध उत्पादनमा अनुदान रकम दिँदै आएको छ । अनुदान पाउनका लागि किसानले सहकारी संस्थामार्फत दूध बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले दिने अनुदान किसानले चौमासिक रूपमा प्राप्त गर्छन् । रासस








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया