जंगे सार्कीले गरे श्रीमतीको हत्या

समाधान संवाददाता २०८२ साउन ११ गते १५:४४

पोखरा ।
पोखरामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी शव कोठामा बन्द गरेर राखेको घटना सार्वजनिक भएको छ । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठेपानीमा ५८ वर्षीय जंगे सार्कीले आफ्नी ५३ वर्षीया श्रीमती छुनु भन्ने जमुना नेपाली सार्कीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले आइतबार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका हुन् ।


साउन ८ गते राति साढे आठ बजे जमुना नेपाली आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेको एसपी ओलीयाले जानकारी दिए । ‘प्रहरीले तत्कालै घटनाको अनुसन्धान सुरु गरी मृतकका श्रीमान् जंगे सार्कीलाई सोही दिन पक्राउ गरेको हो,’ एसपी ओलियाले भने ।


उनका अनुसार घटना साउन ६ गतेको हो । जंगे सार्कीले खाना खाएपछि एक गिलास मदिरा सेवन गरेका थिए । सोही क्रममा जग्गा बेच्ने विषयमा श्रीमान÷श्रीमतीबीच विवाद चर्कियो । विवादकै क्रममा आवेश जंगेले जमुनालाई दुई मुक्का प्रहार गरे, जसका कारण उनी भित्तामा ठोक्किन पुगिन् ।

Advertisement


श्रीमतीलाई अचेत अवस्थामा छाडेर जंगे घरबाहिर रहेको आफ्नै टिनको टहरामा सुत्न गए । भोलिपल्ट, अर्थात् साउन ७ गते उनी बिहानै उठेर छिमेकीको घरमा चिया पिउन गए र त्यहाँबाट ठेकेदारलाई भेटेर पैसा लिन भन्दै शिसुवातिर लागे । दिनभर ठेकेदारलाई भेट्न नसकेको भन्दै उनी साँझ घर फर्किए, खाना बनाएर एक्लै खाए, तर श्रीमतीको अवस्थाबारे कुनै चासो नदेखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ओलीयाले जानकारी दिए ।


साउन ८ गते पनि जंगेको त्यसै गरी चल्यो । उनी बिहान उठेर छिमेकी मामा पर्नेको घरमा चिया खान गए र फेरि ठेकेदारलाई भेट्ने बहानामा शिसुवातिर लागे । तर, दुई दिनसम्म कोठामा थुनिएकी जमुनाको शव सड्न थालिसकेको थियो । साँझ करिब सबा ५ बजे कोठाबाट दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement


प्रहरी पुग्दा जमुनाको शव सडिगलेको अवस्थामा फेला परेको एसपी ओलीयाले जानकारी दिए । ‘शवलाई पोस्टमार्टमका लागि पठाएको थियो । पोस्टमार्टम रिपोर्टमा टाउकोमा लागेको गहिरो चोट का कारण मृत्यु भएको पुष्टि भएको छ,’ उनले भने ।
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ रिभान स्थायी घर भएका सार्की दम्पती विगत २०–२१ वर्षदेखि पोखरा–२७, रिठ्ठेपानीको सुकुम्बासी टोलमा अस्थायी छाप्रो बनाएर बस्दै आएका थिए । जंगेले करिब ३५–३६ वर्षअघि पहिलो विवाह गरेका थिए । पहिलो श्रीमतीले एक वर्षको छोरा छाडेर अन्तै गएपछि उनले जमुनासँग दोस्रो विवाह गरेका थिए ।


जमुनाले नै जंगेको पहिलो श्रीमतीतर्फको छोरालाई हुर्काइन् । छोरा अहिले विवाह गरी आफ्नो परिवारसहित पुरानो घर रिभानमा बस्दै आएको एसपी ओलीयाले जानकारी दिए । प्रहरीका अनुसार ज्यामी काम गर्थे भने जमुना घरधन्दा सम्हाल्थिन् । उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीयले बताएका छन् ।


एसपी ओलियाका अनुसार पक्राउ परेका जंगे सार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया