सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला

पोखरा। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट चार दिनदेखि सम्पर्कविहीन भएको एकै परिवारका सोह्र जना सदस्य पोखरामा सकुशल फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँबाट फेला पारेको हो ।
गत शुक्रबारदेखि सम्पर्कविहीन भएको बाउन्न वर्षीया उर्मिला हायूको परिवारलाई खोज्ने क्रममा प्रहरीले उनीहरूको मोबाइलको अन्तिम लोकेसन रामेछापको सिमन्दीछापमा पत्ता लगाएको थियो । परिवारका सदस्यले गत बिहीबार, साउन आठ गते, घरमा सुँगुर काटेर खाएपछि सम्पर्कविहीन भएको बताइएको छ । उनीहरुको घर एकान्तमा रहेकाले र छिमेकीहरुले केही दिनसम्म उनीहरुलाई नदेखेपछि मात्रै घटना बाहिर आएको थियो । छिमेकीले उनीहरुले पालेको पाडी भोकले कराएपछि खोजबिन थालेका थिए, जसपश्चात घरमा कोही नभएको र उनीहरु सम्पर्कविहीन भएको थाहा भएको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, उनीहरुले बीस हजार रुपैयाँमा गाडी भाडामा लिएर पोखरा आएका थिए । शनिबार पोखरा पुगेर उनीहरू लेकसाइडस्थित होटल जननीमा तीनवटा कोठा लिएर बसेका थिए र आइतबार होटलबाट निस्किएका थिए ।
सोमबार सञ्चारमाध्यममा परिवार हराएको समाचार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरुको खोजी गर्दा गगनगौंडाको सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा डेरा लिएर बसेको अवस्थामा फेला पारेको हो । उनीहरूले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएका छन् ।
प्रहरीले उनीहरूलाई इलाका प्रहरी कार्यालय सिसुवामा लगेर आवश्यक सोधपुछ गरी आफन्तको जिम्मा लगाउने प्रक्रिया अगाडि बढाएको छ । सोह्र जनामध्ये एक छोरी सुजाता हायू भने आफ्ना श्रीमानसँग काठमाडौंमा बस्दै आएको खुलेको छ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया