सिन्धुलीबाट रहस्यमय रुपमा हराएको हायु परिवार पोखरामा फेला, प्रहरीले लगायो आफन्तको जिम्मा

समाधान संवाददाता २०८२ साउन १३ गते ९:३८

पोखरा ।

गत साउन १० गते सिन्धुलीको गोलन्जोरबाट एकाएक सम्पर्कविहीन भएको उर्मिला हायुको परिवार पोखरामा फेला परेको छ। पोखरा महानगरपालिका–३०, गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले मंगलबार आफन्तको जिम्मा लगाएको हो।

Advertisement

साउन १० गते मध्यराति गोलन्जोर गाउँपालिका–६, छेत्पास्थित आफ्नो घरबास नै छाडेर हिँडेपछि हायु परिवारको खोजी सुरु भएको थियो। एकै परिवारका १६ जना हराएको खबरले सिन्धुली, रामेछाप र कास्की प्रशासनलाई समेत सक्रिय बनाएको थियो। तर, पोखरामा फेला पर्दा उनीहरुको संख्या १९ पुगेको थियो, जसमा हायु परिवारका सदस्य र केही नातेदार समेत रहेको प्रहरीले पुष्टि गरेको छ।

सिन्धुलीबाट लामो यात्रा तय गरी पोखरा पुगेका उनीहरु सुरुमा एक होटलमा बसेका थिए। त्यसपछि गगनगौंडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगी आफूहरु ज्यामी कामको खोजीमा आएको बताउँदै आश्रय मागेका थिए। उनीहरुले त्यहीँ शरण लिएर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

Advertisement

परिवारका सदस्यहरुले प्रहरीसँगको सोधपुछमा आफ्नो गाउँ छेत्पामा पटक–पटक बिरामी पर्ने समस्याले सताएपछि गाउँ नै छाडेर हिँडेको बयान दिएका छन्। उनीहरुले अब आफ्नो पुरानो थातथलोमा नफर्किने इच्छासमेत व्यक्त गरेका छन्।

सोमबार राति फेला परेको यस समूहलाई प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी आफन्त धनबहादुर तामाङ र अमिस तामाङको जिम्मा लगाएको छ। वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीसहित अन्य स्थानीयको रोहबरमा उनीहरुलाई आफन्तको साथ पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया