छोरीमाथि गर्भमै विभेद

पोखरा ।
गण्डकी प्रदेशमा छोराको तुलनामा छोरीको जन्मदर घट्दै जाँदा लैंगिक असमानताको खाडल डरलाग्दो रूपमा बढेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशमा ५ वर्षमुनिका बालबालिकामा छोराभन्दा छोरीको संख्या करिब ६ हजारले कम छ, जहाँ ४५ हजार छोराको तुलनामा ३९ हजार मात्र छोरी छन् । कानुनले दिएको सुरक्षित गर्भपतनको सुविधाको दुरुपयोग गरी लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने प्रवृत्ति बढेकाले यस्तो अवस्था आएको सरोकारवालाले औँल्याएका छन् ।
पोखरामा आइतबार आयोजित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले कार्यपत्र प्रस्तुत गर्दै गण्डकीमा मातृ तथा नवशिशु मृत्युदर पनि उच्च रहेको र कास्की जिल्लामा सबैभन्दा बढी मातृ मृत्यु भएको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभर भएका ११ मातृ मृत्युमध्ये ६ वटा कास्कीमा मात्र भएका थिए ।
परिवार नियोजन संघले आयोजना गरेको कार्यक्रममा सहभागी गण्डकी प्रदेशसभाका सदस्यहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि लिखित प्रतिबद्धता जनाए । उनीहरूले विपद्को समयमा समेत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, मातृ तथा शिशु मृत्युदर घटाउने र यस क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने वाचा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सरकारले स्वास्थ्य क्षेत्रमा मध्यकालीन र दीर्घकालीन योजनासहित काम गरिरहेको बताए । उनले अस्पतालहरूको स्तरोन्नति गर्ने र प्रदेशमै स्वास्थ्यकर्मी उत्पादन गर्न बागलुङ र गोरखामा स्वास्थ्य सहायक (एचए) को पढाइ सुरु गर्ने योजना रहेको जानकारी दिए । मन्त्री पाठकले आगामी नीति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यका विषय समेट्ने र परिवार नियोजन संघसँग सहकार्य गर्ने बताए ।
कार्यक्रम आयोजक संस्था परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले यौन तथा प्रजनन स्वास्थ्यबारे गाउँ तहसम्म सचेतना फैलाउने योजना रहेको बताए । विशेषगरी कलेज तहका विद्यार्थीलाई लक्षित गरी २४ वटा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो । कार्यक्रममा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया