विद्यार्थीलाई इन्टर्नसिप र रोजगारी दिन कलेज र उद्यमी मञ्चबीच सम्झौता

समाधान संवाददाता २०८२ साउन १३ गते १२:५२

पोखरा ।

विद्यार्थीलाई इन्टर्नसिप र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज र नेपाली युवा उद्यमी मञ्च, पोखरा बीच मंगलबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। पोखरामा भएको उक्त सम्झौताले शैक्षिक संस्था र व्यावसायिक क्षेत्रबीच सहकार्य गरी पर्यटन तथा आतिथ्य क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने लक्ष्य राखेको छ।

समझदारीका विषयमा कलेजका प्राचार्य प्रकाश रेग्मीले शैक्षिक र उद्यमशीलता क्षेत्रबीचको दूरी घटाएर व्यवहारिक ज्ञान र व्यवसायिक अवसरलाई एकीकृत गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सम्झौता अनुसार विद्यार्थीका लागि इन्टर्नसिप र रोजगारीका अवसर सिर्जना गर्ने, उद्योग भ्रमण, कार्यशाला, अतिथि व्याख्यान तथा ज्ञानमूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, स्रोत र अनुभवको साझा प्रयोगबाट शैक्षिक गुणस्तर बढाउने सहमति भएको छ।

Advertisement

कार्यक्रममा मञ्चका अध्यक्ष समेज राजभण्डारीले साझेदारीले पर्यटन तथा आतिथ्य सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने बताए। उनले व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्न रोजगार मेला आयोजना गरिने जानकारी दिँदै नवप्रवर्तन र युवा सशक्तिकरणप्रति मञ्च प्रतिबद्ध रहेको स्पष्ट पारे।

शैक्षिक संस्था र उद्यमशीलता बीचको खाडल पुर्दै युवालाई उद्यमशील सोच र व्यवहारिक सीपमा सशक्त बनाउन यो सम्झौताले दीर्घकालीन योगदान पुर्‍याउने विश्वास दुवै पक्षले लिएका छन्। आपसी विश्वास र पारदर्शी सहकार्यमा आधारित यो साझेदारी भविष्यका लागि प्रेरणादायी बन्नेमा उनीहरू आशावादी रहेको बताइएको छ।

Advertisement

तपाईको प्रतिक्रिया