रक्तदातालाई रेडक्रसको सम्मान

समाधान संवाददाता २०८२ साउन १३ गते १५:०३

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले १ सय युनिटभन्दा बढी रक्तदान गर्ने संघ, संस्था तथा दुर्लभ रक्तदाता समूहका ५ सदस्यलाई सोमबार सम्मान गरेको छ ।


६० औं रक्त सञ्चार सेवा दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा पोखरामा रक्त सञ्चार केन्द्र स्थापना गर्न योगदान पुर्‍याएका पूर्व उपसभापति तथा स्वास्थ्य समितिका संयोजक टंकमान नापितलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । समारोहमा दुर्लभ रक्तदाताहरु गोकर्ण कार्की, सीता गुरुङ, निर्मल श्रेष्ठ, सन्तोष पौडेल र अनिता लामालाई सम्मानपत्र प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् ।


कार्यक्रममा १ सय युनिटभन्दा बढी रक्तदान गर्ने १५ संघ, संस्थालाई सम्मान गरिएको हो । कोटी होममा ९ सय ८ युनिट रगत संकलन गर्ने मानव सेवा फाउण्डेसनका मिलन राउत, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाका अध्यक्ष दीपेन्द्र अधिकारी र ८९ पटक रक्तदान गर्ने जितेन्द्रमान शाक्य, शान्तिदीप पोखराले सञ्चालन गरेको आकस्मिक रक्तदान युनिट (आरदायु)का संयोजक हरिश्चन्द्र शर्मा सम्मानित बने ।

Advertisement


लायन्स क्लब अफ भिमाद ग्रिन सिटी, पोखरा कोरिया रिटर्न र पोखरा आदर्श चौतारी, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, हिमालय क्लब पोखरा १६, बुद्वटोल युवा क्लब, मनिप्लान्ट सहकारी, कैलाश बचत तथा ऋण सहकारी संस्था, नेपाल रेडक्रस सोसाइटी पोखरा ६ उपशाखा, नेपाल सुनचाँदी व्यवसायी महासंघ, टिम पोखरा मल्टिपल प्रपोज प्रालि संस्थालाई समेत सम्मान गरिएको छ ।

१ सय युनिटभन्दा बढी रक्तदान गर्ने १५ संघ, संस्थालाई सम्मान

Advertisement


गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले मानवीय सेवाको क्षेत्रमा काम गर्ने संस्था रेडक्रसले प्राकृतिक प्रकोप, मनसुन जन्य विपद्, खानेपानी योजना लगायतका विकास निर्माणको क्षेत्रमा योगदान पुर्‍याएको बताए । उनले रेडक्रसको मानवीय सेवा धार्मिक कामभन्दा ठूलो भएको चर्चा गरे । उनले प्रदेश सरकारले प्राविधिक रुपमा सहयोग गरेर प्रदेशमा बसोबास गर्ने सबै नागरिकलाई रगत तथा रगतजन्य सेवा निःशुल्क गरिएको जानकारी दिए ।


‘प्राकृतिक विपद्का घटनामा राहत उद्वारका लागि पहिला हाजिर हुने रेडक्रसलाई सबै किसिमको सहयोग गर्न सरकार तयार छ,’ उनले भने, ‘प्रदेश सरकार रहेसम्म रेडक्रसलाई सहयोग रहन्छ ।’ उनले पछिल्लो समयमा गोदाम घर निर्माण लगायत राम्रो कामको थालनी गरेको उल्लेख गरे ।


कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गण्डकी प्रदेशको नमुना बनेको सोसाइटी कास्की सबै जिल्लाको लागि प्रेरणाको स्रोत बनेको बताइन् । उनले स्वास्थ्य शिक्षा र विपद्को क्षेत्रमा स्थानीय प्रशासनले रेडक्रससँग सहकार्य गर्ने जानकारी दिइन् ।


‘मानवताको पक्षमा’ भन्ने नाराका साथ भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, नेपाल रेडक्रस सोसाइटीका पूर्व उपकोषाध्यक्ष डोलराज पाण्डे, गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, कास्कीका निवर्तमान सभापति तथा स्वास्थ्य समितिका संयोजक डण्डराज शर्मा पौडेल, पूर्व उपसभापति नापित, उपसभापति रमा कोइराला न्यौपाने, मन्त्री सन्तोष अधिकारी, कोषाध्यक्ष मोहनसिंह खड्का, कार्यसमिति सदस्य खगेन्द्रराज पराजुली, सिर्जना विकास केन्द्रका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले रक्त सञ्चार सेवाबारे बोलेका थिए ।


नेपालको सन्दर्भमा विसं २०२३ सालको साउन १२ गते वीर अस्पतालको एउटा कोठामा पहिलो ब्लड बैंक स्थापना गरिएको दिनलाई रक्त सञ्चार सेवा दिवसको रुपमा मनाइने गरिएको छ । रेडक्रस कास्कीले सुरुवातमा ब्लड बैंकले ज्येष्ठ नागरिक, असहाय, विपन्नलाई रक्तजन्य सेवा शुल्क छुट दिँदै आएको थियो । कास्की शाखाकै पहलमा २०७८ फागुन १ गतेदेखि गण्डकी प्रदेश सरकारको सहयोगमा सेवाग्राहीका लागि रगतका सबै सेवा निःशुल्क भएको छ ।


रगतको बढ्दो माग र आधुनिक प्रविधियुक्त सेवालाई विस्तार गर्ने क्रममा स्थापना भएको प्रादेशिक रक्त सञ्चार सेवा (ब्लड बैंक) ५९ औँ रक्तसञ्चार सेवा दिवसको सन्दर्भ पारेर १२ साउन २०८१ देखि प्रारम्भिक रूपमा सञ्चालन गरिएको हो । ब्लड बैंकबाट १ मंसिर १ २०८१ देखि २४ सै घण्टा सेवा दिन थालिएको छ ।

वेबसाइट हेरेर कुन समूहको कुन कम्पोनेन्ट के कति स्टक छ, थाहा हुन्छ, स्टकको आधारमा रगतको आवश्यकता पर्नेले माग गर्न सक्ने छन् । ब्लड बैंकमा स्टक कमी भएको रगतलाई दातालाई खबर गरी समयमै संकलन गर्न सकिने व्यवस्था मिलाइएको प्रादेशिक रक्त सञ्चार सेवाका इन्जार्च अर्जुन ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया