अल्फा बाल क्लबमा ‘छोरीको देश’

समाधान संवाददाता २०८२ साउन १३ गते १९:२८

पोखरा ।

अल्फा एकेडेमी कालिकाचोकमा रहेको अल्फा बाल क्लबले मासिक नियमित पुस्तक परिचर्चा आयोजना गरेको छ । शृंखलामा साहित्यकार डा वसन्त गौतमको कवितासंग्रह ‘छोरीको देश’माथि परिचर्चा गरिएको हो ।

क्लबले विद्यार्थीमा पठन संस्कृति विकास गर्ने उद्देश्यका साथ पुस्तक परिचर्चा आयोजना गरेको हो । क्लबको पहिलो पुस्तक परिचर्चा कार्यक्रमका रूपमा साहित्यकार सुरज उपाध्यायद्वारा लिखित ‘साइकल’ कविता संग्रहमाथि परिचर्चा भएको थियो ।
कार्यक्रममा कक्षा १० की प्रशंसा शर्मा र कक्षा ९ की छात्रा प्रिसी त्रिपाठीले कवितामाथि पाठकीय प्रतिक्रिया व्यक्त गरेका थिए । प्रिसीले संग्रहभित्र प्रकृति, मानवीय चेतना र जीवनका विभिन्न आरोह, अवरोहका सन्दर्भहरू हृदय छुने गरी आएको बताइन् । कवितामा आफूलाई प्रतिबिम्बित भएको पाइने बताउँदै उनले जीवनको यथार्थलाई प्रस्तुत गर्दै देशभक्तिलाई बडो प्रखरताका साथ उल्लेख गरिएको पनि बताइन् ।

Advertisement

कवितामा देशभक्ति र इतिहासका सन्दर्भ जान्न सकिने अवसर प्राप्त हुने उनले बताइन् । देशका सुन्दर सहरको प्राकृतिक सुन्दरतालाई आस्वादन गर्दै प्रेमिल कविता पनि सङ्ग्रहभित्र रहेका उनले बताइन् । पुस्तकप्रेमी हरेकले पढ्नुपर्ने खालको कृति रहेको बताउँदै उनले कविको निरन्तर साधनाको कामनासमेत गरिन् ।

अर्की छात्रा प्रशंसाले सामाजिक पीडाको प्रस्तुति गर्दै न्यायको माग गर्दै लेखिएको कृति भएको औँल्याइन् । व्यक्तिले जीवनमा गर्नुपर्ने संघर्ष र उतारचढावका बारेमा यसमा उल्लेख भएको उनले बताइन् । प्रकृतिको सुन्दर काखमा जन्मिए पनि सामाजिक रूपमा दर्दनाक अवस्थाका बिचमा नेपाली बाँच्नुपरेको कुरा कविताले उल्लेख गरेको बताइन् । आम मानिसका संघर्षको गहन अनुभूतिलाई सरल भाषामा लेख्न सक्ने क्षमता कविमा रहेको उनले सुनाइन् ।

Advertisement

कार्यक्रममा साहित्यकार अमृत क्षेत्रीले कलिलै उमेरमा पुस्तक पढ्नु, पढेर महसुस गरेका कुरा लेख्नु र त्यसलाई माइक समाएर निर्धक्क प्रस्तुत गर्नुले बालबालिकामा जीवनलाई हेर्ने दृष्टिकोण बलियो बन्दै जाने कुरा बताउँदै पठन संस्कृतिलाई निरन्तर अगाडि बढाउन आग्रहसमेत गरे । क्लबले थालनी गरेको यो सुन्दर कार्यलाई अझ व्यापक बनाउँदै लैजान शुभकामना व्यक्त गरे ।

सो अवसरमा विद्यार्थीहरू रोजिना पुरी, क्लबका संरक्षक सञ्जीव पौडेल लगायतले कृतिबाट केही थान कविता वाचन गरेका थिए । अल्फा बाल क्लबकी अध्यक्ष प्रशंसा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्लबकी उपाध्यक्ष प्रिसी त्रिपाठी, सदस्य विश्वास ढकाल, विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजु सुनार लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया