गरिबी र दुर्गम जीवनसँग विद्रोहः हायू परिवारको पोखरा यात्रा

पोखरा ।
सिन्धुलीको दुर्गम पहाडी गाउँबाट अचानक सम्पर्कविहीन भएको उर्मिला हायूको १६ जनाको परिवार ३ दिनपछि पोखरामा फेला पर्यो । आधारभूत सुविधाको अभाव र चरम गरिबीले विवश भएर मध्य रातमा घर छाडेको यो परिवार अहिले पोखराको गगनगौँडामा बसोबास गरिरहेको छ ।
गोलन्जोर गाउँपालिका वडा नम्बर ६ स्थित छेत्पाको एकान्त बस्तीमा बसोबास गर्दै आएको उर्मिलाको परिवार शनिबार मध्य रात एक बजे घरबाट निस्किएको थियो । सोमबार पोखरा–३०, गगनगौँडा स्थित स्थानीय बासिन्दा सोमनाथ पौडेल र चन्द्र भण्डारीको कोठामा बस्ने व्यवस्था मिलाएर बसेको अवस्थामा उनीहरु भेटिएका हुन् ।
पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना बाँडिएर बसेका थिए । ३ वर्षअघि पतिको मृत्युपछि १६ जनाको परिवारको जिम्मेवारी सम्हाल्दै आएकी उर्मिलाको स्थिति निकै कष्टकर छ । भौगोलिक रूपमा दुर्गम छेत्पाबाट नजिकको बस्ती गोक्सिला पुग्न १ घण्टा र मध्य पहाडी लोकमार्गसम्म पुग्न २ घण्टा पैदल यात्रा गर्नुपर्छ ।
लोपोन्मुख जाति हायू समुदायका लागि राज्यले प्रतिव्यक्ति ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरे पनि यो रकम ठूलो परिवारका लागि अपुग भयो । नियमित पानी र विद्युत् आपूर्तिको समस्या, बालबालिका बारम्बार रोगले ग्रस्त भएको अवस्था, स्वास्थ्य सेवाको अभाव र बढ्दो ऋणको भारले परिवारलाई असह्य स्थितिमा पुर्याएको थियो ।
साउन १२ गते बिहान स्थानीयले उर्मिलाको परिवार सम्पर्कविहीन भएको थाहा पाएका थिए । कसैलाई जानकारी नदिई मध्य रातमा गाउँ छाडेर निस्किएको परिवारले आइतबारको रात पोखराको लेकसाइड स्थित होटल जननीमा बिताएको पुष्टि भएको छ । त्यसपछि सोमबार उनीहरुले गगनगौँडामा कोठा भाडामा लिएर बसोबास सुरु गरेका छन् ।
कास्की प्रहरीका अनुसार उर्मिलाका ज्वाइँ धनबहादुर तामाङले गगनगौंडामा बस्ने व्यवस्था मिलाएका हुन् । पोखरा मुग्लिङ सडक निर्माणमा कार्यरत धनबहादुरको सहयोगमा परिवार पोखरा आएको हो ।
साना बाबुनानी पटक पटक बिरामी भए । केही महिना यहाँ बसेर परिस्थिति हेरेर अगाडिको योजना बनाउने सोचमा छौं ।
परिवारका जेठा छोरा २९ वर्षीय राजु हायूले आफू २२ दिनअघि मात्र नेपाल आएको बताए । उनले आफू विदेशबाट घर फर्कदा भाइबहिनी बिरामी पर्ने गरेकाले जोडबल गरेर पोखरा ल्याएको सुनाए । आफ्नो जीवनलाई सहज बनाउने उद्देश्यले यो निर्णय लिएको उनको भनाइ छ । ‘पानी र बिजुलीको निरन्तर समस्याले हामीलाई सताइरहेको थियो । साना बाबुनानी पटक पटक बिरामी भए । राम्रो वातावरणमा उपचार पनि भएन, त्यहीँ भएर केही महिना यहाँ बसेर परिस्थिति हेरेर अगाडिको योजना बनाउने सोचमा छौं,’ उनले भने ।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बसोबासको स्थान एकान्त भएको, बालबालिकाको स्वास्थ्य समस्या र आधारभूत सुविधाको अभावका कारण पोखरा आएको प्रारम्भिक सोधखोजबाट पत्ता लागेको बताए । ‘स्वेच्छाले आफ्नो गाउँ छाडेर काम खोज्ने उद्देश्यले पोखरा आएको बताएका छन् । यहाँ कार्यरत ज्वाइँको सहयोगमा बस्ने व्यवस्था मिलाएको बुझिएको छ,’ ओलियाले भने ।
मंगलबार प्रहरीले परिवारलाई आफन्तको जिम्मामा सुम्पिएपछि उनीहरूले फेवा ताल भ्रमण गरेका थिए । डुंगा चढेर तालबाराही मन्दिरको दर्शन पनि गरेका उनीहरूले पोखरामै बस्ने बताएका छन् । हायू समुदाय नेपालका लोपोन्मुख १० जातिमध्ये एक हो । यस समुदायको जनसंख्या करिब तीन हजार हाराहारीमा रहेको अनुमान गरिएको छ ।
‘अनर्गल टिप्पणी नगरौं’
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट सम्पर्कविहीन उर्मिला हायूको परिवारप्रति अनर्गल टिप्पणी बढेपछि हायू समाज नेपालले आपत्ति जनाएको छ । हायू समाज नेपालले सरकारबाट प्राप्त भत्ता लिएपछि ऋण तिर्नुपर्ने भयले भागेको भन्ने हचुवा टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेको हो ।
‘उर्मिलाको परिवार बेपत्ता’ भनी सामाजिक सञ्जालमा खिसिट्युरी गर्ने किसिमका टिप्पणीहरु बढ्न थालेपछि हायू समाज नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । ऋण तिर्नुपर्ने भयले भागेको, अरुलाई सास्ती दिएको जस्ता हचुवाका भरमा टिप्पणीहरु भएको भन्दै हायू समाज नेपालले असन्तुष्टि व्यक्त गरेको छ ।
परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित उनीहरुको स्वेच्छिक निर्णयलाई गलत प्रचार गरिएको भन्दै समाजले आपत्ति जनाएको छ । ‘हाम्रो हायू समुदाय आफ्नो श्रम, इमानदारिता र आत्मसम्मानमा जीवनयापन गरी आएको आदिवासी समुदाय हो ।
यस्तो आधारविहीन र हचुवा प्रचार–प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मानमाथि प्रहार भएको अनुभूति हामीले गरेका छौं’, हायू समाज नेपालका अध्यक्ष लक्ष्मण हायूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हायू समाज नेपालले तथ्यमा आधारित रहेरमात्रै समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।









अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
पोखरामा मानवअधिकार महाभेला सुरु
प्रतिनिधि सभाका लागि कास्की–२ मा कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ५ जनाको दाबी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया