पोखराको ‘बगैंचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उद्घाटन

समाधान संवाददाता २०८२ साउन १४ गते १४:१३

पोखरा ।
पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको सम्मिश्रणका साथ निर्मित बगैंचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवर्द्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी हुन् ।

उनले दिगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्त्वपूर्ण बन्ने उल्लेख गरिन् । उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।

‘अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुसी लाग्छ । विदेशमा जसरी मेहनत गर्छौँ, यदि यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन् । नेपालमै केही गर्न सकिन्छ भन्ने सोच सकारात्मक छ’, उनले भनिन् ।

Advertisement

उनले बगैंचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् । ‘सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैंचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ’, उनले भनिन् ।

उनका अनुसार पछिल्ला केही महिनामा सरकारले लगानीको वातावरण बनाउन महत्त्वपूर्ण कामहरू अघि बढाएको छ । पछिल्लो ६ महिनामा सरकारले गरेको काम प्रशंसायोग्य भएको र पर्यटनलगायतका क्षेत्रलाई अघि बढाउन यस्ता वातावरण बनाउँदै जानुपर्ने विषयमा उनले जोड दिइन् ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैंचा रिसोर्ट एण्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे ।

अंशुभरा ग्रुपका चेयरम्यान एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बगैंचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गरे । उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएको उल्लेख गरे । उनले मन्त्री देउवामार्फत भारत, चीनलगायत देशहरूबाट सिधा उडान र द्विपक्षीय सहकार्यका लागि पहल गर्न अनुरोध गरेका छन् ।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट सञ्चालक सौगात थापाले बगैंचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको बताए । ‘यहाँको हरेक सामग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ’, उनले भने ।

बगैंचा विचार, विश्राम र पुनर्जागरणको सम्मिश्रण भएको भनाइ उनको छ । आफ्ना बुबा विन्दु कुमार थापाको समर्थन र मार्गदर्शनले नै सपना साकार भएको उल्लेख उनले गरे । अंशुभरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यावसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको उनले जानकारी गराए ।

बगैंचा रिसोर्ट एण्ड स्पामा १ सय ५० डलरदेखि ३ सय ५० डलरसम्मको कोठाको व्यवस्था गरिएको छ । जहाँ ३२ वटा कोठा, ४ किसिमका लक्जरी सुइटहरू (स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैंचा सुइट) छन्, सबैमा निजी बाल्कोनीसहित हरियाली दृश्यको अनुभव लिन सकिन्छ ।

रिसोर्टभित्र रहेको ‘टारो पूलसाइड बार’ र ‘मरिच इन्डो–चाइनीज रेस्टुरेन्ट’ तथा ‘उमामी प्यान–एशियन रेस्टुरेन्ट’ ले स्वादमा समेत बहुराष्ट्रिय विविधता ल्याउने बताइएको छ । यहाँ प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्गानिक फार्मबाट ल्याइनेछ ।

बगैंचाको अर्को विशेषता भनेको यसको शून्य प्लास्टिक नीति हो । काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिइएको छ । एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगजस्ता तत्त्वहरूले यसलाई सांस्कृतिक संरक्षणको जीवित थलो बनाएको छ ।

रिसोर्टमा जलवायु सचेतता अनुरूप वर्षाको पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको छ ।

स्पा सेवामा पारम्परिक नेपाली उपचार विधि, योग अभ्यास, सिंगिङ बाउल थेरापी र साउन्ड हिलिङजस्ता ध्यानात्मक कार्यक्रम बगैंचाको विशिष्टता भएको सञ्चालक सौगात थापाले जानकारी दिए । साथै, स्थानीय जडीबुटीबाट तयार पारिएको ‘बगैंचा विशेष चिया’ पाहुनाका लागि एक विशेष अनुभव हुने विश्वास समेत गरिएको छ ।


तपाईको प्रतिक्रिया