पोखरा महानगरको नयाँ राजस्व प्रणालीमा समस्या, सेवाग्राहीलाई धैर्य गर्न आग्रह

समाधान संवाददाता २०८२ साउन १४ गते १५:३२

पोखरा ।
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षदेखि लागू गरेको नयाँ अनलाइन राजस्व प्रणालीमा प्राविधिक समस्या देखिएपछि सेवा प्रवाहमा ढिलाइ भएको छ । ‘सुत्र राजस्व प्रणाली’ मा करदाताको विवरण पुनः प्रविष्ट गर्नुपर्ने र प्रणालीमा देखिएको प्राविधिक कठिनाइका कारण सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्था आएपछि महानगरपालिकाले सार्वजनिक रूपमा सूचना जारी गर्दै धैर्य गर्न आग्रह गरेको छ ।

Advertisement

महानगरपालिकाले सेवाग्राहीले अपेक्षाअनुरूप समयमा सेवा प्राप्त गर्न नसकेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यो समस्या समाधानका लागि महालेखा नियन्त्रकको कार्यालयसँग निरन्तर समन्वय भइरहेको र सेवा प्रवाहलाई छिटो बनाउन राजस्व शाखामा थप जनशक्ति परिचालन गरिएको महानगरले स्पष्ट पारेको छ ।

सेवाग्राहीको चाप कम गर्न र सेवा प्रवाहलाई सहज बनाउन महानगरपालिकाले केही समयका लागि विशेष व्यवस्था गरेको छ । जसअनुसार, करमा सहुलियत लिने अवधि पौष मसान्तसम्म रहेकाले अत्यावश्यक अवस्थामा बाहेक कर तिर्न हतार नगर्न अनुरोध गरिएको छ । भूमि कर (मालपोत), सम्पत्ति कर, बहाल कर तथा व्यवसाय कर तिर्नका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र प्रणालीगत समस्या समाधानका लागि मात्र महानगरको मुख्य कार्यालयमा आउन आग्रह गरिएको छ ।

Advertisement

त्यसैगरी, सेवा लिन आउँदा अनिवार्य रूपमा व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्ने हुँदा संयमित भएर आफ्नो पालो कुर्न, आवश्यक कागजात तयारी अवस्थामा राख्न र कर्मचारीले मागेको विवरण उपलब्ध गराएर सहयोग गर्न पनि महानगरले नगरवासीमा अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ, ‘सेवा काउन्टर अगाडि अनुशासित, मर्यादापूर्वक, शान्तिपूर्ण र धैर्य भएर बस्नुहुन, कर्मचारीलाई सिर्जनात्मक पृष्ठपोषण दिनुहुन तथा असल नागरिकको भूमिका निर्वाह गर्नुहुन अनुरोध छ ।’

Advertisement

प्राविधिक विकासले सेवा प्रवाह सरल र छिटो हुनुपर्नेमा देखिएको यो समस्या समाधानका लागि महानगरपालिका प्रयासरत रहेको र सेवाग्राहीमा पर्न गएको असहजताप्रति क्षमाप्रार्थी रहेको व्यहोरा समेत सूचनामार्फत जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया