पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि भारत र चीनसँग कुरा गरें : परराष्ट्रमन्त्री देउवा

पोखरा ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सञ्चालनका लागि भारत र चीन सरकारसँग निरन्तर पहल गरिरहेको बताएकी छन् । उनले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘साहसिक खेल कूटनीति’ को नयाँ अवधारणा अगाडि बढाउने सोच बनाएको समेत उल्लेख गरिन् ।
नेपाल तरुण दल कास्कीले बुधबार पोखरामा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति, जलवायु परिवर्तन तथा तरुणहरूको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘परराष्ट्रमन्त्रीको हैसियतमा भारत भ्रमण जाँदा मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँगकै भेटमा नेपालका लागि अतिरिक्त हवाई रुट र पोखरामा उडानका लागि आग्रह गरेकी थिएँ,’ उनले भनिन्, ‘चीन भ्रमणका क्रममा पनि चिनियाँ अधिकारीहरूलाई पोखरा विमानस्थलमा उडान गराउने व्यवस्था मिलाउन अनुरोध गरेकी छु ।’
उनले मध्यपूर्व लगायतका देशका आफ्ना समकक्षी र नेपालस्थित राजदूतहरूमार्फत पनि पोखरा र भैरहवामा उडान सञ्चालनका लागि सम्बन्धित एयरलाइन्ससँग कुरा गर्न आग्रह गर्दै आएको जानकारी दिइन् ।
जलवायु परिवर्तनले हिमाल कालो देखिन थाल्यो
मन्त्री देउवाले पोखराको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै जलवायु परिवर्तनका कारण हिमालको सौन्दर्य संकटमा परेकोमा चिन्ता व्यक्त गरिन् । ‘पहिले पोखरा आउँदा मोतीका दाना टल्किएजस्तो देखिने माछापुच्छ्रे, धौलागिरि र अन्नपूर्ण हिमाल अहिले कालो देख्छु,’ उनले भनिन्, ‘यो दृश्यले मलाई निकै खिन्न बनाउँछ ।’
उनले शक्तिशाली देशहरूको अनियन्त्रित कार्बन उत्सर्जनको मार नेपालजस्ता देशले भोग्नुपरेको बताउँदै यसलाई ‘नखाएको विष’ को संज्ञा दिइन् । यही अन्यायविरुद्ध आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको र हालै अन्तर्राष्ट्रिय अदालतको पूर्ण इजलासमा समेत नेपालको पक्षमा जलवायु न्यायको माग गरेको उनले बताइन् ।
‘नेपालको यो अवस्थालाई विश्वमाझ पुर्याउन हामीले जलवायु कूटनीतिलाई प्राथमिकता दिएका छौँ,’ उनले भनिन्, ‘हालै सम्पन्न सगरमाथा संवाद र आगामी महिना काठमाडौंमा हुने हिमालय-हिन्दकुश क्षेत्रका संसदीय समितिको सम्मेलन पनि यसैको निरन्तरता हो ।’
उनले जलवायु परिवर्तनको असर तराईको खडेरीदेखि पहाड र हिमालको बिग्रँदो सन्तुलनसम्म देखिएको बताइन् । अथर्व वेदको ‘माता भूमिः पुत्रोहम् पृथ्वीब्याः’ (पृथ्वी मेरी आमा हुन् र म उनको सन्तान हुँ) भन्ने भनाइ उद्धृत गर्दै उनले प्रकृतिलाई दोहन नभई माया र सम्मान गर्न आग्रह गरिन् ।
आफू परराष्ट्रमन्त्री भएपछि ‘नेपाल फर्स्ट’ नीतिअनुसार छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राखेको र कूटनीतिक माध्यमबाट राष्ट्रिय हितको संरक्षणमा जुटेको उनको भनाइ थियो ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया