गाउँ फर्किन मानेनन् हायू परिवार, सिन्धुलीबाट पोखरा आएको टोली रित्तै फर्कियो

पोखरा
सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित आफ्नो घर र वस्तुभाउ छाडेर पोखरा आएको हायू परिवार गाउँ फर्किन तयार देखिएको छैन। उनीहरूलाई सम्झाएर घर फर्काउन बुधबार पोखरा आइपुगेको जनप्रतिनिधि र आफन्तको टोली साँझ रित्तो हात सिन्धुली फर्किएको छ।
गोलन्जोर गाउँपालिका–६, बिखर कटेरीका १६ जना हायू परिवारका सदस्य र उनीहरूका तीन आफन्तसहित १९ जना हाल पोखरा–३०, गगनगौंडामा कोठा भाडामा लिएर बसिरहेका छन्। परिवारकी मूली उर्मिला हायूले आफूहरू सजिलोसँग बाँच्नका लागि पोखरा आएको बताउँदै अब गाउँ नफर्किने अडान लिएकी छन्। ‘हामीहरू बिरामी भयौं, ठाउँको असुविधा पनि भयो,’ उनले भनिन्, ‘यतै काम गर्ने भनेर आएका हौं।’ उनका श्रीमानको यसअघि नै मृत्यु भइसकेको छ।
गत शुक्रबार थलैमा बाँधिएका भैंसी, बाख्रा र कुखुरा खुला छाडेर यो परिवार सम्पर्कविहीन भएको थियो। खोजीमा जुटेको सुरक्षा संयन्त्रले सोमबार साँझ उनीहरूलाई पोखरामा फेला पारेको थियो। त्यसपछि मंगलबार प्रहरीले हायू परिवारका सदस्यलाई पोखरा महानगरपालिका वडा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा उर्मिलाकी छोरी कमलाका श्रीमान धनबहादुर तामाङको जिम्मा लगाएको थियो। तनहुँका बासिन्दा तामाङ पोखरा–मुग्लिन सडक विस्तार आयोजनामा काम गर्छन् र उनकै आडभरोसामा हायू परिवार पोखरा आएको देखिन्छ।
उनीहरूलाई फर्काउन वडाध्यक्ष रविनकुमार श्रेष्ठको नेतृत्वमा आफन्तसहितको टोली पोखरा आएको थियो। वडाध्यक्ष श्रेष्ठले एकान्तमा भए पनि उनीहरूको गाउँ विकट नभएको बताए। ‘बिजुली पुगेको छ, घरमै खानेपानीको धारा छ। बजार पनि आधा घन्टामै पुगिन्छ,’ उनले भने, ‘बस्तुभाउ, घर छाडेर, कसैलाई पत्तै नदिई किन आए, आश्चर्यमा परेका छौं।’
वडाध्यक्ष श्रेष्ठले काम गर्ने सदस्य धेरै नभएकाले पोखरामा बाँच्न कठिन हुने भन्दै हायू परिवारलाई गाउँमै फर्काउन चाहेको बताए। ‘त्यही घरमा बस्न चाहे किन्ने व्यवस्था गरिदिन्छौं, अरु ठाउँमा बस्न चाहे पनि घर, खेतीको व्यवस्था गरिदिन्छौं फर्कनुस् भनेका छौं,’ उनले भने, ‘केही दिनमा निर्णय दिन्छौं भनेका छन्।’ उर्मिलाका जेठा छोरा राजुले पनि टाढा स्कुल भएको र परिवारका सदस्य बिरामी परिरहेकाले गाउँ छाडेको बताउँदै सोचेर निर्णय दिने जवाफ दिएका छन्।
नेपालको लोपोन्मुख जाति हायूको बसोबास रामेछाप, सिन्धुलीसहित सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे र सिराहामा छ। राज्यले २०६४–६५ देखि यो जातिलाई मासिक भत्ता दिँदै आएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा हायू जातिको जनसंख्या तीन हजार ६९ छ। उनीहरूको आफ्नै भाषा भए पनि बोल्नेको संख्या घट्दै गएको छ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया