सूचना साक्षरता र मानवअधिकारबारे विमर्श

समाधान संवाददाता २०८२ साउन १४ गते १९:४६

पोखरा ।


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा ‘मिडिया तथा सूचना साक्षरता र मानवअधिकार’ विषयक अन्तक्र्रिया पोखरामा बुधबार भएको छ । कार्यक्रममा मिडिया, सूचना साक्षरता र मानवअधिकारका विविध आयाममा छलफल भएको थियो ।

कार्यक्रममा पत्रकार सन्तोष पोखरेलले मिडिया साक्षरताबारे प्रस्तुति दिँदै डिजिटल युगमा नागरिकले पाउने सूचनाका स्रोत, विश्वासनीयता र उपयोगको बारेमा सचेत हुनुपर्ने बताए । ‘सूचनाको बाढीमा नागरिक अलमलमा पर्न सक्छन् । त्यसैले मिडिया साक्षरता भनेको सहित सूचनाको पहुँच हुने र सही निर्णय गर्ने क्षमता हो,’ उनले भने ।

Advertisement

मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नीतु गर्ताैलाले सामाजिक सञ्जालमा आएको समाचार कसरी छुट्याउने भन्दै जिज्ञासा राखेकी थिइन् । यद्यपि उनले फेसबुक जस्ता प्लेटफर्ममा आक्रोश वा भावनामा लेखिएका पोस्टहरूलाई समाचारका रुपमा विश्वास गर्न नहुनेमा जोड दिइन् ।

उनले समाचार लेख्दा विश्वसनीयतामाथि प्रश्न उठ्ने गरी पत्रकारिताले समाचार लेख्न नहुने उनको भनाइ छ । ‘पत्रकारिता एक किसिमको सेवा हो । यसले समाजलाई सूचना दिन्छ, आवाज दिन्छ । त्यसैले मिडियाको निष्पक्षता कायम राख्न सबै पत्रकार स्वयं उत्तरदायी हुनुपर्छ,’ उनले भनिन् ।

Advertisement

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्माले मानवअधिकार संरक्षणका लागि समावेशी दृष्टिकोण आवश्यक रहेको बताइन् । ‘मानव अधिकार र स्वतन्त्र पत्रकारिता सँगसँगै हिँड्ने विषय हुन् । निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता नै समावेशी समाजको जग हो, हामी त्यसमा अडिग छौं,’ उनले भनिन् ।

इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले नागरिकको सूचना बुझ्ने क्षमता अभिवृद्धिमा मिडिया साक्षरताले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले प्रेस स्वतन्त्रता र मिडिया नैतिकता एकअर्काका पूरक भएको बताए ।

‘आजको पत्रकारिता दबाब र लोभको सामना गरिरहेको छ । यस्ता चुनौतीका बीच सञ्चारकर्मीहरू अझ सचेत र सक्षम हुनुपर्छ । मेनस्ट्रम मिडिया त्यसमा लागेको छ,’ उनले भने ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, मानवअधिकारकर्मी, संघ, संस्थाका प्रतिनिधिको उपस्थिति थियो । सहभागीले मिडिया तथा सूचना साक्षरताको सन्दर्भमा शिक्षा, नीतिगत व्यवस्था र अभ्यासको खाँचो औंल्याउँदै सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया