माछापुच्छ्रेको घाचोकमा पहिरो जाँदा एकको मृत्यु, सहायक प्रधानाध्यापक घाइते

समाधान संवाददाता २०८२ साउन १४ गते २१:१२

पोखरा।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोले पुरेर एक युवकको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो। सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले घाचोकको लस्तीखोला स्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खसेको जानकारी दिए।

Advertisement

स्थानीय बंगुर फार्मका लागि दाना लिएर जाँदै गर्दा गुरुङ पहिरोमा परेका थिए। पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।

सोही पहिरोमा परेर घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्। पोखराबाट मोटरसाइकलमा विद्यालयतर्फ जाँदै गर्दा उनलाई पहिरोले पुरेको थियो। स्थानीयले तत्काल उद्धार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए, जहाँ उनको उपचार भइरहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया