
जोमसोम ।
हिमाली जिल्ला मनाङका याकचौरी तथा याकचौरीका पाठापाठी पैदल खेदाउँदै मंगलबार मुस्ताङ ल्याइएको छ । समुन्द्री सतहको ४ हजार २ सय मिटर उचाइमा अवस्थित मनाङको नार्पाभूमी गाउँपालिकाको नारगाउँको उच्च लेक अवस्थित त्यहाँको याकचौरी ६ दिनसम्म निरन्तर पैदल खेदाउँदै मुस्ताङ भित्र्याइएको हो ।
यहाँको थासाङ गाउँपालिका १ टुकुचे गाउँका ४ जना स्थानीय युवा मिलेर मुस्ताङमा संयुक्त रुपमा याकचौरी पालन व्यवसाय सुरु गर्ने उद्देश्यसहित मनाङको नार गाउँबाट ९६ वटा याकचौरी तथा पाठापाठी मुस्ताङ ल्याईपुर्याएका हुन् ।
यहाँका स्थानीय अमरसिंह शेर्पा लगायत ४ जनाको समूहले मनाङ र मुस्ताङको सिमाना थोरङपास छिचोल्दै मुस्ताङ ल्याई पुर्याएका छन् ।
मनाङको नार गाउँका विभिन्न गोठमा रहेका याकचौरी किनेर मुस्ताङ ल्याएको थासाङ १ टुकुचेका स्थानीय अमरसिंह शेर्पाले जानकारी दिए । त्यहाँबाट ९६ वटा याकचौरी तथा पाठापाठीलाई ३६ लाखभन्दा बेसीमा किनेर यहाँ ल्याइएको बताए । यहाँ भित्र्याईएका याकचौरी मासुका लागि नभई याकचौरी पालन गर्ने मनसायले ल्याइएको हो ।
मनाङबाट मुस्ताङसम्म याकचौरी ल्याउँदा बाटोमा निकै दुःख र सास्ती व्यवहोर्नु परेको स्थानीय शेर्पाले सुनाए । ‘याकचौरी पालन गर्ने मनसायले मनाङको नार गाउँमा याकचौरी खोज्न गयौं, त्यहाँका ३/४ वटा गोठबाट याकचौरी तथा पाठापाठी किन्यौं,’ उनले भने, ‘त्यहाँबाट पैदल हिडाएर यहाँसम्म ल्याउन निकै कठिन हुँदो रहेछ, आज सातौं दिनमा याकचौरी लिएर घरमा पुग्यौं ।’
यहाँ ल्याइएका याकचौरी थासाङको बतासे लेंकमा पुर्याएर व्यवसायिक रुपमा पालन गर्ने योजना रहेको शेर्पाले उल्लेख गरे । त्यसो त उपल्लो डोल्पाबाट पनि मुस्ताङमा याकचौरी बिक्रीका लागि ल्याउने गरिएको छ । यहाँ ल्याइने याक पाल्नका लागि नभई मासुका लागि ल्याइने गरिएको छ ।
हिमाली जिल्लाको उच्च लेकमा पालन गरिने यस प्रकारका याकचौरीले हिमाली जटिबुटी खाने भएकाले याकचौरीको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक मानिने गर्छ । मुस्ताङको पाँच वटै पालिकामा स्थानीय किसानले याकचौरी पालन गर्ने गर्छन् । यहाँ सबैभन्दा धेरै थासाङ गाउँपालिकामा याकचौरी पालन गरिएको छ । त्यसपछि उपल्लो मुस्ताङमा पनि केहीले याकचौरी पाल्ने गरेका छन् ।
याकचौरी पालन व्यवसाय यहाँको सदिंयौदेखिको मौलिक संस्कृति र परम्परा पनि हो । पछिल्लो समय हिमाली क्षेत्रको याकचौरी पालन संस्कृति लोपोन्मुख अवस्थामा रहँदा यहाँका युवाले यस प्रकारको व्यवसाय सुरु गर्नु निकै सकारात्मक पक्ष रहेको थासाङका याकचौरी पालक सोजन हिराचनले जनाए ।
उनले भने, ‘यो याकचौरी पालन व्यवसाय नै पछिल्लो समयमा संकटमा पर्न थालेको छ, जलवायु परिवर्तनको असर र वन्यजन्तुको जोखिमले याकचौरी पालन व्यवसायअघि बढाउन निकै चुनौती छ । यसै बिचमा यहाँका युवापंक्तिले सुरु गर्न थालेको यो व्यवसायले केही मात्रामा याकचौरी पालकमा ऊर्जा थपिने निश्चित छ ।’
यहाँ पालन गरिएका याकचौरीलाई हिउँद र बर्खा गरी मौसम अनुसार घुम्ती गोठ खडा गरी पालन गर्ने गरिएको छ । हिउँदमा बस्ती नजिक र बर्खायाममा उच्च लेकको चरनक्षेत्र लगिन्छ । याकचौरीको दूधबाट दही, मही, घ्यु, छुर्पी, चिज आदि परिकार बनाएर बिक्री गर्ने गरिन्छ । बर्सेनी दुई पटक याकचौरीको आलो रगत निकाले यहाँका पशुपालक किसानले अतिरिक्त आम्दानी लिने गर्छन् ।
याकचौरीको पुच्छरसमेत निकै महंगोमा बिक्री हुन्छ । हिन्दू धर्मका अनुयायीले याकचौरीको पुच्छरलाई पूजाकोठा र मठ, मन्दिरमा सजावट गर्ने प्रचलन छ । यहाँ एउटै याकचौरीको पुच्छर १ हजार ५ सयदेखि २ हजारसम्ममा बिक्री हुन्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया