‘असारे विकास’ होइन, वर्षभरिको भुक्तानी हो : मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८२ साउन १५ गते १७:५६

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक वर्षको अन्त्यमा हुने भुक्तानीलाई ‘असारे विकास’ नभई वर्षभरि गरिएको कामको भुक्तानीका रूपमा बुझ्नुपर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामी आफैं क्लियर हुन जरुरी छ, समग्र वर्ष दिनको कामको भुक्तानी हुने हुँदा असारमा बजेट गएकोलाई असारे विकास भन्नु भएन,’ बिहीबार पोखरामा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा मुख्यमन्त्री पाण्डेले भने । उनले आगामी आर्थिक वर्षदेखि असार १५ देखि २० गतेभित्रै कामको अन्तिम भुक्तानी दिइसक्ने वातावरण बनाउन निर्देशन दिए । यसपटक बहुवर्षीय योजनामा ७० प्रतिशतसम्म रकम छुट्याइएकाले उल्लेख्य प्रगति हासिल हुनेमा उनले विश्वास व्यक्त गरे ।

Advertisement

कार्यक्रममा दिइएको जानकारीअनुसार, भौतिक पूर्वाधार मन्त्रालयले गएको आर्थिक वर्षमा चार वर्षयताकै उच्च प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति भने ७६.५२ प्रतिशत छ ।

भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्षको प्रगति सन्तोषजनक रहेको बताउँदै आगामी वर्ष यसलाई अझ बढाउने उल्लेख गरे । ‘थोरै खर्च हुने प्रवृत्तिलाई निरुत्साहित गर्न यसपालिबाट आर्थिक वर्षको सुरुबाटै स्पष्ट कार्ययोजना बनाएर योजनाहरु कार्यान्वयन गर्न आवश्यक छ,’ उनले भने ।

Advertisement

मन्त्री केसीले यही वर्ष सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को समस्या समाधान हुने विश्वास दिलाए । ‘सवारी चालक अनुमतिपत्र छपाइ गर्न बजेट विनियोजन भई प्रक्रिया सुरु भइसकेकाले लाईसन्स छपाइको समस्यासमेत चाँडै समाधान हुने देखिन्छ,’ उनले भने । यस्तै, राइड सेयरिङसम्बन्धी नियमावली २०८१ तयार भइसकेको र व्यवसायीका असहमतिलाई वार्ताबाट समाधान गरी चाँडै कार्यान्वयनमा ल्याइने उनले प्रस्ट पारे । मन्त्री केसीले मन्त्रालय र अन्तर्गतका कार्यालयमा प्राविधिक कर्मचारीको अभाव पूर्तिका लागि करारमा भर्ना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

कार्यक्रममा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले राइड सेयरिङ सेवाले प्रदेशको आन्तरिक आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरे । भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारीले यो वर्ष नवलपुरमा यातायात र पूर्वाधार कार्यालय निर्माण गरिने तथा प्रदेशले बनाएका पुल र सडकको प्रगति पुस्तिका क्रमशः सार्वजनिक गरिने बताए ।

समीक्षा कार्यक्रममा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयका प्रमुखहरूले आ–आफ्नो वार्षिक प्रगति, समस्या र भावी योजना प्रस्तुत गरेका थिए । सो अवसरमा समयभन्दा अगावै काम सम्पन्न गर्ने २० निर्माण व्यवसायीलाई सम्मानसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया