कोटिहोमको नाममा ऐतिहासिक रुख काटेको अभियोगमा मानवसेवा फाउण्डेसनका प्रबन्धकसहित ७ जनाविरुद्ध मुद्दा दायर

पोखरा । ‘विश्व शान्ति कोटिहोम’ को लागि समिदा बनाउने नाममा पोखराका ऐतिहासिक वर-पिपलका रुख अवैध रूपमा काटेको अभियोगमा डिभिजन वन कार्यालय कास्कीले सात जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रतिवादी बनाइएकाहरूमा कोटिहोमको आयोजकमध्येको एक मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक पनि छन् ।
डिभिजन वन कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै पोखरा महानगरपालिका-१४ का विभिन्न स्थानमा रहेका सार्वजनिक चौतारी र सडक किनारका रुखहरू गैरकानुनी रूपमा कटानमा संलग्न व्यक्तिहरूमाथि मुद्दा चलाइएको जनाएको हो । केही महिनाअघि पोखरामा आयोजित कोटिहोमका लागि दाउरा (समिदा) आवश्यक परेको भन्दै शुभमार्ग टोल, राधाकृष्ण टोल र साधनामार्गका पुराना वर-पिपलका रुखहरू काटिएका थिए ।
सार्वजनिक तथा ऐतिहासिक महत्वका रुखहरू काटिएपछि पोखरा महानगरपालिका, वातावरण संरक्षणका लागि महाअभियान, नागरिक समाजलगायतले चौतर्फी विरोध गर्दै डिभिजन वन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । चौतर्फी दबाब र उजुरीपछि वन कार्यालयले घटनाको अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा प्रक्रिया नपुर्याई, आफूखुसी रुख काटेको र कानुनविपरीत सम्झौता गरी समिदाका लागि भन्दै भरपाई बनाएर काठ बिक्री-वितरणसमेत गरेको पाइएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, प्रतिवादी बनाइएकाहरूमा मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक विष्णु राज गिरी, पोखरा-१४ शुभमार्ग टोलका तारा प्रसाद तिवारी र योगमाया बराल रहेका छन् । यस्तै, राधाकृष्ण टोलका अर्जुन बहादुर कार्की र रामकृष्ण अधिकारी तथा साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेल लाई पनि मुद्दा चलाइएको कार्यालयका सूचना अधिकारी हरि प्रसाद गौतमले जानकारी दिए ।
उनीहरूले वन ऐन, २०७६ र वन नियमावली, २०७९ को प्रक्रिया उल्लंघन गरेको पुष्टि भएकाले वन ऐन, २०७6 को दफा ४९(घ) बमोजिमको कसुरमा दफा ५० को उपदफा (१४) अनुसार सजायको माग दाबी गर्दै साउन १५ गते कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।









पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया