कांग्रेस गण्डकीले ३ भ्रातृसंस्थासँग साउन २२ मा अन्तर्क्रिया गर्ने

समाधान संवाददाता २०८२ साउन १५ गते १९:१८

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले आफ्ना तीन महत्त्वपूर्ण भ्रातृसंस्थाहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । कांग्रेसको गण्डकी प्रदेश भ्रातृसंघ समन्वय विभागको प्रदेश कार्यालयमा बसेको नियमित बैठकले आगामी साउन २२ गते पोखरामा उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

Advertisement

विभागका संयोजक अजित क्षेत्रीका अनुसार, अन्तर्क्रियामा नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूपू सैनिक संघको सहभागिता रहनेछ । पार्टीको प्रदेश कार्यसमिति र यी तीन भ्रातृसंस्थाहरूबीच सम्बन्ध र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

कार्यक्रमलाई संक्षिप्त, विषयकेन्द्रित र परिणाममुखी बनाइने संयोजक क्षेत्रीले बताए । “कार्यक्रममा विषयसँग सम्बन्धित ४० मिनेटको कार्यपत्र प्रस्तुत हुनेछ,” उनले भने, “वक्ताहरूका लागि समयसीमा तोकेर कार्यक्रमलाई उपलब्धिमूलक बनाउन प्रयत्न गर्नेछौं ।”

Advertisement

अन्तर्क्रियामा तीनवटै भ्रातृसंस्थाका गण्डकी प्रदेश पदाधिकारी र तोकिएका कार्यसमिति सदस्यहरू, गण्डकी प्रदेशअन्तर्गतका जिल्ला सभापति वा प्रतिनिधिहरू तथा गण्डकी प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको सहभागिता रहने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया