पोखराका ताल जोड्न लेक टु लेक साइकल ट्र्याक

समाधान संवाददाता २०८२ साउन १६ गते १६:५३

पोखरा ।

पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरुलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजना तयार भएको छ। विकास साझेदार एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटहरु सहितको गुरुयोजना तयार भएको हो ।


छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ११७ किमी लम्बाइको लेक टु लेक साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । ‘यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ, उनले भने, पोखराको पर्यटन विकासमा यो महत्त्वपूर्ण कोषे ढुंगा सावित हुनेछ ।’

Advertisement

पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षण प्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उनले विश्वास व्यक्त गरे ।


विकास साझेदार एसियाली विकास बैङ्कको करिब १ अरब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । पोखराको दिगो पर्यटन विकास अन्तरगत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण भएको हो । गुरुयोजना तयार भइसकेपछि एडिबी मिसन र सरोकारवालाहरुसँग शुक्रबार छलफल समेत गरिएको छ । एडिबी मिसनले यसको स्थलगत अवलोकन समेत गरेको आयोजना व्यवस्थापक कविता पौडेलले बताए ।

Advertisement


पोखरामा रहेका तालहरूलाई एक आपसमा (भित्र र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी इनर र आउटर दुई वटा रुटसहित विभिन्न स्थानमा कनेक्टिङ रुट समेत निर्माण गर्दा करिब ११७ किमी लम्बाइको साइकल ट्र्याक निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया